खाेज्नुहाेस

धनगढीमा छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिस पत्र हस्तान्तरण

Image

धनगढी – धनगढी उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत चालु शैक्षिक सत्र २०८३ मा ३५८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई संस्थागत विद्यालयमा अध्ययन गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले सञ्चालित कार्यक्रममार्फत छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बुधबार सिफारिस पत्र वितरण गरिएको हो ।

attariya hospital
navjiwan hospital

धनगढी उपमहानगरपालिकाको सभा हलमा आयोजित छात्रवृत्ति वितरण, शुभकामना तथा बधाई कार्यक्रममा छात्रवृत्तिका लागि छनोट भएका सम्पूर्ण विद्यार्थीलाई बोलाएर सिफारिस पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल ले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै गुणस्तरीय शिक्षाको अवसरलाई सदुपयोग गर्न आग्रह गरे ।

उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा कुल ९१७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१ मा २७६, आर्थिक वर्ष २०८२ मा २८३ र आर्थिक वर्ष २०८३ मा ३५८ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन् । अघिल्ला वर्षको तुलनामा यस वर्ष छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ ।

धनगढी उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमा उपलब्ध छात्रवृत्ति कोटामा विगतमा प्रतिस्पर्धात्मक परीक्षा प्रणालीमार्फत विद्यार्थी छनोट गर्दै आएको भए पनि यस वर्ष भने एसईईको नतिजाका आधारमा छात्रवृत्ति प्रदान गरिएको जनाएको छ । उपमहानगरपालिकाका अनुसार यो कार्यक्रमले आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।