खाेज्नुहाेस

सुदूरपश्चिमका लागि स्वर्ण पदक जितेका खेलाडी सम्मानित

Image

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाले स्वर्ण विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै बैतडीको दोगडाकेदार गाउँपालिका–८ स्थित रौलेश्वर मावि कालागाउँमा अध्ययनरत छात्रा सुनिता पार्किलाई सम्मान गरिएको हो ।

हालै काठमाण्डौंमा सम्पन्न १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सुनिताले सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाएकी थिइन् ।

attariya hospital
navjiwan hospital

सुनितालाई १० हजार ५५५ रुपैयाँ नगदसहित गाउँपालिकाकातर्फबाट सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिइन् । खेलाडीको हौसला बढाउन गाउँपालिकाले स्वर्ण विजेता खेलाडीलाई सम्मान गरेको उनले बताइन् ।

पार्कीले हाइजम्प विधामा स्वर्ण पदक हात पारेकी थिइन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक दिलाउने सुनितालाई निशुल्क रुपमा उच्च शिक्षाका लागि गाउँपालिकाले पहल गर्ने गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताए ।

यस्तै जिल्ला खेलकुद समिति बैतडीले पनि स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने जनाएको छ ।

बैतडीबाट सुदूरपश्चिमको प्रतिनिधित्व गरेर स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिने जिल्ला खेलकुद समिति बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले बताए । सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै बैतडीबाट सहभागी पाँच जना खेलाडीले स्वर्ण पदक हात पारेका थिए ।