अत्तरिया – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका ६ लाखभन्दा बढी मूल्यका सामान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१८ डिपो बजार, भजनी नगरपालिका–५ मिलनपुर तथा वडा नम्बर ६ महादेली क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ४ लाख ४३ हजार ८ सय ५० रुपैयाँ बराबरका चिनी, सुर्ती, वायरिङ पाइप, फलामका जन्जिर, ट्र्याक्टरका विभिन्न पार्टपुर्जा तथा एक थान मोटरसाइकल लगायतका सामान बरामद गरिएको हो ।


मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बजार, वडा नम्बर १० गज्जर तथा बेलडाँडी गाउँपालिका–२ क्षेत्रबाट अन्दाजी २ लाख ४० हजार ९ सय रुपैयाँ बराबरका पेय पदार्थ, विभिन्न किसिमका कपडा तथा एक थान मोटरसाइकल लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको हो ।



















