अत्तरिया – कैलाली र कञ्चनपुरमा विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका चार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाअनुसार चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएकी टिकापुर नगरपालिका–१ बस्ने ५७ वर्षीया गंगादेवी शाह र लागूऔषध मुद्दामा २ महिना कैद सजाय तोकिएका लम्कीचुहा नगरपालिका–२ बस्ने २३ वर्षीय कृष्ण रावललाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

त्यसैगरी, जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैलाअनुसार सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र २ हजार रुपैयाँ जरिवाना तोकिएका शुक्लाफाँटा नगरपालिका–१० झलारी बस्ने ३२ वर्षीय सुरज राना तथा सोही मुद्दामा ६ महिना कैद सजाय तोकिएका बेलौरी नगरपालिका–६ हात्तिबोझा बस्ने ४० वर्षीय चन्दु रानालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरेको जनाएको छ ।



















