अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेश प्रमुख नाजिर मियाँले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति कार्यक्रममा पञ्चवर्षीय योजनाले निर्दिष्ट गरेका लक्ष्य, उद्देश्य, प्राथमिकता अनुसार बजेट तथा कार्यक्रम तर्जुमा गर्ने, आयोजना बैंकलाई आधार लिई कार्यक्रम विकास र कार्यान्वयन गर्ने उल्लेख छ । सरकारले हालै मात्रै दोस्रो पञ्चवर्षीय योजना कार्यान्वयनमा ल्याएको छ । यस्तै प्रदेशको विकासका लागि आयोजना बैंकका योजनालाई आधार लिइने नीति तथा कार्यक्रममा उल्लेख छ । यद्दपी विगतका बजेट कार्यक्रममा भने आयोजना बैंकका योजनालाई उपेक्षा गरिदैं आएको थियो ।
यस्तै प्रदेश गौरवका आयोजनाहरू आगामी आर्थिक वर्ष भित्र सम्पन्न गर्ने गरी बजेट विनियोजन, सहजीकरण र नियमन गर्ने महत्त्वाकांक्षी लक्ष्य पनि राखिएको छ । नीति तथा कार्यक्रममा २५ लाख भन्दा कम लागतका आयोजनामा बजेट विनियोजन नगर्ने भनिएको छ । यद्यपि अघिल्लो आर्थिक वर्षमा पनि प्रदेश सरकारले यो नीति लिएको भए पनि व्यवहारमा भने लागू आएको थिएन । नीति कार्यक्रममा सार्वजनिक खर्चलाई मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउँदै अनुत्पादक खर्चमा कटौती गरिने भनिएको छ । बेरुजु फछ्र्यौट तथा सम्परीक्षण कार्यलाई उच्च प्राथमिकता दिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश प्रमुख स्टार्टअप कार्यक्रम मार्फत सीप विकास कार्यक्रम सञ्चालन गर्ने, लगानीमैत्री वातावरण सृजना गर्ने, एकीकृत तथ्याङ्क व्यवस्थापन प्रणाली विकास गर्ने, नीति तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन प्रणाली सुदृढ बनाउने जनाइएको छ ।

भौतिक पुर्वाधार तर्फ प्रादेशिक सडक यातायात गुरुयोजनाको प्राथमिकताको आधारमा प्रदेश लोक मार्ग प्रदेश सहायक मार्ग विकास, विस्तार र स्तरोन्नति गरिने उल्लेख छ । जसअन्तर्गत हालसम्म सडक सञ्जालसँग नजोडिएका साइपाल गाउँपालिका, अपि हिमाल गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिकालाई प्रादेशिक तथा स्थानीय सडक सञ्जालसँग जोड्ने लक्ष्य राखिएको छ ।

यस्तै कृषि आर्थिक पहुँच मार्ग, सडक मर्मत सम्भार समूह, चिसापानी सुर्खेत सडक स्तरोन्नति एवम् कालोपत्रे, झोलुङ्गे पुल मर्मत, एक घर एक धारा, एकीकृत कृषि सिँचाइ आयोजना कार्यान्वयन, जनता आवास कार्यक्रम नीति तथा कार्यक्रममा समावेश छन् ।
रोजगारी सिर्जना गर्न मुख्यमन्त्री लघु उद्यम कार्यक्रम, लघु, घरेलु, तथा साना उद्योगहरूको स्तरोन्नति तथा आधुनिकीकरणका लागि कार्यक्रम सञ्चालन, एक स्थानीय तह एक लघु औद्योगिक ग्राम विस्तार, दशरथ चन्द सीपमूलक एवं दक्षता अभिवृद्धि कार्यक्रम, द्वारिका देवी ठकुरानी महिला उद्यमशीलता कार्यक्रम नीति तथा कार्यक्रममा समावेश छन् ।
यस्तै पर्यटन विकासका लागि बाकावीर पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने, अपि सुर्मा सैपाल खप्तड, रानीसैन, बडिमालिका रामारोशन क्षेत्रको पर्यटन प्रवद्र्धन तथा पदमार्ग निर्माण गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा सहभागी छन् । यस्तै मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तरगत सेती, महाकाली, टीकापुर अस्पताललाई १ सय शय्यामा विस्तार, दार्चुला, बाजुरा, बझाङ, बैतडी, अछाम र डोटीमा बिरामीको चाप अनुसार २५ देखि ५० शय्या क्षमतामा विस्तार गर्ने नीति ल्याइएको छ । यस्तै थारु समुदाय लक्षित सिकेलसेल एनिमिय, थालासेमिया, हेमोफिलिया जस्ता रोगहरूको पहिचान निदान र उपचारको व्यवस्थाका लागि घोरीघोरा स्वास्थ्य उपचार कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
यस्तै शिक्षा अन्तरगत प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रका एक एक वटा माध्यमिक विद्यालयहरूलाई प्रदेश नमुना विद्यालयका रूपमा विकास गर्ने, वादी उत्थान छात्रवृत्ति कार्यक्रम, मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने, सुदूरपश्चिम विश्वविद्यालय र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँगको सहकार्यमा अनुसन्धान एवम् नवप्रवर्तन कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै कृषिका कार्यक्रम अन्तरगत एक पालिका दुई उत्पादन कार्यक्रमलाई सुदृढीकरण गर्ने, भौगोलिक पहिचान भएका विशिष्ट स्थानीय उत्पादनहरूलाई प्रवद्र्धन र बजारीकरणका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्ने, कृषि उपजको मुख्य दैनिक किसानलाई उपलब्ध गराउने जस्ता कार्यक्रम समावेश छन् ।



















