खाेज्नुहाेस

सुदूरपश्चिम सरकारद्धारा दोस्रो पञ्चवर्षीय योजना कार्यान्वयनमा ल्याउने निर्णय

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदालाई स्वीकृत गर्दै आजदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेश विकास परिषद्बाट पारित दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदालाई स्वीकृत गर्दै कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

यसअघि शुक्रबार मुख्यमन्त्री शाहकै अध्यक्षतामा बसेको परिषद् बैठकले उक्त योजनाको मस्यौदा पारित गरेको थियो । प्रदेश नीति तथा योजना आयोगद्वारा तयार गरिएको योजना पहिलो पञ्चवर्षीय योजनाको समीक्षा, संघीय सरकारको सोह्रौँ योजना, संविधान, ऐन–नियम, आर्थिक सर्वेक्षण तथा सरोकारवाला सँगको छलफलका आधारमा तयार गरिएको हो ।

attariya hospital

‘समुन्नत, सुन्दर सुदूरपश्चिम’ भन्ने दीर्घकालीन सोचसहित तयार गरिएको योजनाले प्रदेशवासीको जीवनस्तर सुधारलाई मुख्य लक्ष्य बनाएको छ । उत्पादन वृद्धि, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, पूर्वाधार विकास, स्वास्थ्य तथा शिक्षा सुधार, वातावरण संरक्षण र सुशासन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ ।

navjiwan hospital

योजनाले कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रको विकासमार्फत आर्थिक वृद्धि हासिल गर्ने, साथै यातायात, ऊर्जा, खानेपानी र डिजिटल पूर्वाधार विस्तार गर्ने रणनीति अघि सारेको छ ।

सामाजिक क्षेत्रमा समान पहुँच सुनिश्चित गर्नुका साथै जलवायु परिवर्तन अनुकूलन, जैविक विविधता संरक्षण र विपद् जोखिम न्यूनीकरणलाई समेत प्राथमिकता दिइएको छ ।

शिक्षा क्षेत्रमा गुणस्तरीय, समावेशी तथा रोजगारमुखी उच्च शिक्षाको विकास, छात्रवृत्ति, डिजिटल शिक्षण प्रणाली, अनुसन्धान र सीप विकासमा जोड दिइने उल्लेख गरिएको छ । प्रदेश सरकारले यस योजनालाई दिगो विकास, सुशासन र समावेशी आर्थिक रूपान्तरणतर्फको मार्गदर्शक दस्तावेजका रूपमा लिएको छ ।

यसैबिच मन्त्रीपरिषद् बैठकले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पारित गरी प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ । प्रदेश सभाको बैठक जेष्ठ १८ गते सोमबार दिउँसो ३ बजे बस्ने तय भएको छ । सभामा प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।