अत्तरिया – सुदूरपश्चिमका सरकारी अस्पतालहरूमा रेबिज रोग विरुद्धको सुइँको चरम अभाव भएको छ । नियमित आपूर्ति नहुँदा अहिले विशेष गरेर तराइका जिल्लाहरूमा रहेका सरकारी अस्पतालहरूमा रेबिज सुइँको चरम अभाव सिर्जना भएको हो । नेपाल सरकारले सरकारी अस्पतालमा रेबिजविरुद्धको सुइँ निःशुल्क उपलब्ध गराउँदै आएको भए पनि विगत एक डेढ सातायता यस क्षेत्रका धेरै जसो अस्पतालहरूले रेबिज सुइँ उपलब्ध गराउन सकेका छैनन् ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर प्रसाद श्रेष्ठले विगत एक साता देखि अस्पतालमा रेबिजको सुई उपलब्ध नभएको बताए । यस्तै महाकाली अस्पतालका प्रवक्ता डा. अर्जुन भट्टले पनि ४/५ दिन देखि रेबिज सुइँको अभाव रहेको बताए ।

गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अन्तरगत सञ्चालित शिक्षण अस्पतालमा पनि पनि रेबिज सुइँ उपलब्ध छैन । अस्पतालका प्रवक्ता नैन सिंह कार्कीले एक साता देखि रेबिजको सुइँ उपलब्ध नभएको बताए ।
यता गोदावरीमा रहेको मालाखेती अस्पतालमा पनि डेढ साता देखि रेबिजको सुइँको अभाव रहेको छ । वैशाखमा मात्रै २६० जनाले रेबिजको सुई लगाएको अस्पतालमा हाल रेबिजको सुई अभाव हुँदा दैनिक जसो मानिसहरू फर्काउनु परेको अस्पतालकी सूचना अधिकारी सुनिता बोहराले बताइन् । उनले रेबिज सुइँको लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा माग गरेको भए पनि उपलब्ध नभएको बताइन् ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी जयन्द्र बोगटीले केन्द्रमा स्टक सकिएकाले अस्पतालहरूमा पठाउन नसकिएको बताए । उनले आपूर्ति व्यवस्थापन केन्द्रमा २० दिन अघि नै स्टक सकिएको बताए । उनले रेबिज सुई सङ्घीय सरकारबाट हुने आपूर्तिबाट परिपूर्ति नहुने भए पनि प्रदेश सरकारबाट पनि खरिद गरिएको भए पनि सबै स्टक सकिएको बताए ।
‘यसको पहिलो नम्बरमा खरिद व्यवस्थापन सङ्घीय सरकारको हो । सङ्घीय सरकारको नियमित आपूर्तिले नपुग्ने भएकाले यसपालि प्रदेश सरकारले पनि विशेष कार्यक्रम राखेको थियो’ उनले भने ‘प्रदेशबाट विनियोजित ७० लाखको टेन्डर भएर १६ हजार भाइल किनेका थियौ । त्यो सबै सकिएपछि हाल अभाव भएको हो ।’ उनले संघबाट सप्लाई नहुँदा र प्रदेशको स्टक सकिएकाले अभाव भएको बताए ।
उनले बर्सभरिमा ४५ हजार भन्दा माथि भाइल आवश्यक पर्ने बताए । उनले संघमा खरिद प्रक्रियामा ढिलाइ हुँदा आपूर्ति रोकिएको जानकारी आफूहरूले पाएको बताए । उनले सङ्घीय सरकारले सम्बन्धित निकायले खरिद गरेर आपूर्ति गर्न परिपत्र गरेको बताए । ‘संघमा एक पटक खरिद प्रक्रिया सम्पन्न नहुँदै क्यान्सिल भएको भन्दै नियमित आपूर्ति हुन नसकेकाले सम्बन्धित निकायले खरिद व्यवस्थापन गरेर चलाउन हुन भनेर परिपत्र गरिएको छ’ उनले भने ‘यस परिपत्र अनुसार अस्पतालले पनि आफ्नो आन्तरिक श्रोतबाट खरिद गर्न सक्छ ।’
उनले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा भने बजेट नभएकाले तत्काल खरिद गर्न सक्ने अवस्था नरहेको बताए । उनले रेबिज सुई लगाउन नआउने पहाडी जिल्लाका कुनै अस्पतालहरूमा स्टक रहेको हुन सक्ने भए पनि तराइका जिल्लाहरूमा भने अभाव भएको बताए ।
जनावरमा लाग्ने रेबिज रोग कुकुर बिरालोले मानिसलाई टोकेपछि रेबिज विरुद्धको सुई लगाउने गरिन्छ । हाल सरकारी अस्पतालहरूमा निःशुल्क पाइने यो सुइँको अभाव हुँदा बिरामीहरू निजी अस्पतालहरूमा महँगोमा सुई लगाउन बाध्य छन् । यो सुई निजी अस्पताल, मेडिकलहरूमा पनि सीमित ठाउँमा मात्रै ५ सय देखि ७ सय रुपैयाँमा पाइने गरेको छ ।
















