खाेज्नुहाेस

साढे ४ वर्षदेखि अलपत्र इको पार्क, निर्माणाधीन संरचना पनि भत्किन थाले

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ मा रहेको गडबिजुला सामुदायिक वनमा निर्माण सुरु गरिएका इको पार्क विगत साढे ४ वर्ष देखि अलपत्र अवस्थामा रहेको छ । २०७८ मंसिर १ गते देखि निर्माण सुरु गरिएको इको पार्क त्यसको ४ महिना पछि डिभिजन वन कार्यालय कञ्चनपुरले काम रोकेको थियो ।

आवश्यक प्रक्रिया नपुगाएर काम सुरु गरिएको पाइएपछि वन कार्यालयले प्रक्रिया पुगाउन भन्दै काम रोकेको थियो । त्यसयता साढे ४ वर्ष प्रक्रिया पुगाउनै फाइल घुम्दा काम ठप्प छ । तत्कालीन मेयर कर्ण हमालको पालामा पर्यटन मन्त्रालयको पर्यटन पूर्वाधार तथा उपज विकास साझेदारी कार्यक्रमबाट प्राप्त बजेट मार्फत इको पार्क निर्माणको काम अगाडि बढेको थियो । पर्यटन पूर्वाधार कार्यक्रमबाट २ करोड ४० लाख र नगरपालिकाबाट १ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

attariya hospital

सो बजेट मार्फत नगरपालिकाले डीपीआर बनाएर ठेक्का मार्फत काम अगाडि बढाएको भए पनि प्रारम्भिक वातावरणीय परीक्षण (आईई) बिना नै निर्माण गरिएको भन्दै डिभिजन वन कार्यालयले निर्माण सुरु भएको ४ महिना पछि काम रोकेको थियो ।

कृष्णपुर नगरपालिका – २ का वडाध्यक्ष अर्जुन साउँदले यसअघि आईई स्वीकृत नभई काम सुरु गर्दा रोकिएको बताए । उनले आफूहरू निर्वाचित भएर आएपछि आईई स्वीकृतिका लागि प्रदेशमा फाइल पठाएको भए पनि प्रदेशले प्रक्रिया अगाडि नबढाएको बताए । उनले ठेक्का रद्द नभएको र प्रत्येक वर्ष नगरपालिकाबाट बजेट पनि छुट्टाइने गरिएको बताए ।

navjiwan hospital

‘विगतका जनप्रतिनिधिले आईई स्वीकृत नगरी काम अगाडि बढाइदिँदा काम रोकिएको थियो’ उनले भने ‘हामीले आईई स्वीकृत गरेर काम अगाडि बढाउन खोजे पनि प्रदेश सरकारमै फाइल रोकिएको छ । सुरुमा प्रदेशको वन ऐन आउन ढिला भयो अहिले वन ऐन आएपछि पनि अघि बढेको छैन ।’ उनले आईई स्वीकृतिका लागि २ वर्ष अघि नै फाइल प्रदेशमा पढाइएको बताए । ‘काम सुरु गर्ने बेला संघबाटै स्वीकृत लिनुपर्ने थियो । पछि प्रदेशको ऐन आएकाले प्रदेशबाट स्वीकृति लिनुपर्ने भयो’ उनले भने ‘हामीले स्वीकृतिका लागि प्रक्रिया बढाए पनि प्रदेशबाट स्वीकृति नआएकाले काम अगाडि बढ्न सकेको छैन ।’ उनले प्रदेशबाट आईई स्वीकृत भएमा बजेटको समस्या नभएको बताए ।

विगत साढे ४ वर्षदेखि काम रोकिदा सुरुको ४ महिनाको अवधिमा निर्माण गरिएका संरचना पनि भत्किन थालेका छन् । हाल इको पार्कको केही भाग पर्खाल भत्किसकेको छ भने भवनका अधुरा संरचना पनि जीर्ण बनेका छन् ।

उक्त इको पार्क निर्माणका लागि जोशी अमृत जेभीले सँग भ्याट सहित २ करोड ३२ लाख ४३ हजार ९ सय ७ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त काम सम्पन्न गर्नका लागि २०७९ फागुन मसान्त सम्मको म्याद तोकिएको थियो । जस अन्तरगत पर्खाल, शौचालय र गार्ड घर निर्माणको काम सुरु गरिएको थियो ।

३८ हजार ८११.५२ स्क्वायर मिटर क्षेत्रफलमा निर्माण गर्ने भनिएको इको पार्कमा बाउन्ड्री वाल, अफिस तथा गार्ड घर, शौचालय तथा चेन्जिङ रुम, शिव मन्दिर, ढुङ्गे धारा सहितको स्विमिङ पुल, बालबालिका खेल पार्क, झरना सहितको स्टिल पुल, ल्याण्डस्केप पानीको फोहोरा लगायतका संरचना निर्माण गरिने जनाइएको छ ।