बाजुरा– बाजुरा अस्पतालमा ६ वर्षीय बालकको सफल आपतकालीन एपेन्डिक्स शल्यक्रिया गरिएको छ । बडीमालिका नगरपालिका–९ का ६ वर्षीय रिदम नेपालीको अस्पतालमा कार्यरत एमडीजीपी डाक्टर आशिस कार्की सहितको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको हो ।

केही दिनअघि बालक पेटको दायाँ तल्लो भागमा तीव्र दुखाइ, वाकवाकी तथा बान्ताको समस्या लिएर अस्पताल पुगेका थिए । क्लिनिकल परीक्षण तथा अल्ट्रासाउन्डपछि बालकमा “फेकोलिथ सहितको तीव्र एपेन्डिसाइटिस” पुष्टि भएको अस्पतालले जनाएको छ ।

डाक्टर कार्कीका अनुसार यस्तो अवस्थामा २४ घण्टाभित्र शल्यक्रिया नगरिए एपेन्डिक्स फुट्ने, पेटभरि संक्रमण फैलिने, सेप्सिस हुने तथा ज्यानसमेत जोखिममा पर्ने सम्भावना रहन्छ ।
सीमित स्रोतसाधन र चुनौतीपूर्ण परिस्थितिका बीच बालकको आपतकालीन ‘ओपन एपेन्डेक्टोमी’ स्पाइनल एनेस्थेसियामार्फत सफलतापूर्वक गरिएको उनले बताए । शल्यक्रियाका क्रममा सुन्निएको एपेन्डिक्सभित्र फेकोलिथ भेटिएको पनि जानकारी दिइएको छ ।


















