अत्तरिया – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका चार लाखभन्दा बढी मूल्यका सामान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ नेशनल ट्रेडिङ नजिक तथा वडा नम्बर १९ खेदाघाट क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी २ लाख १० हजार १ सय रुपैयाँ बराबरका बिडी, सुर्ती, प्लास्टिक झिल्ली, बोइलर कुखुरा, एक थान मोटरसाइकल लगायतका सामान बरामद गरिएको हो ।


बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–५ तिनतारा, वडा नम्बर ११ गड्डाचौकी, बेलौरी नगरपालिका–२ बैजुडाँडा तथा बेलडाँडी गाउँपालिका–३ कमरी क्षेत्रबाट अन्दाजी २ लाख १५ हजार ९ सय ७१ रुपैयाँ बराबरका चिनी, पेय पदार्थ, हार्डवेयर तथा किराना सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।















