बेलौरी – कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रबाट लागू औषधको ओसारपसार बढ्दै गएपछि सशस्त्र प्रहरीले विद्यालयहरूमा सचेत गराउन कक्षा सञ्चालन गरेको छ ।

बुधवारबाट सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म बेलौरीले आफ्नो क्षेत्रका विद्यालयहरूमा लागू औषध दुर्व्यसन र मादक पदार्थ सेवनबाट हुने असरहरू भन्ने विषयमा कक्षा सञ्चालन गरेको हो ।
गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतले बेलौरी नगरपालिका – ४ शान्तिनगर स्थित उग्रतारा बाल विद्यालयका ८, ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई लागू औषध दुर्व्यसनबाट हुने असरहरूबारे जानकारी गराएका छन् ।

गुल्म पती बस्नेतका अनुसार पछिल्लो समय लागू औषध दुर्व्यसनी बढ्दो भएकाले विद्यालयमा नै पुगी विद्यार्थीहरूलाई त्यसको असर सँगै कानुनबारे जानकारी गराउन अभियान नै थालिएको हो । यो अभियान अन्तरगत क्रमशः सीमा क्षेत्रका अन्य मुख्य विद्यालयहरूमा कक्षा सञ्चालन गरिने उनको भनाई छ ।
कक्षा सञ्चालन गरेपछि लागू औषध दुर्व्यसनी न्यूनीकरणका सहयोग मिल्ने गुल्म पती बस्नेतको विश्वास छ । पछिल्लो समय दक्षिणी सीमाका बेलडाडी, बेलौरी र पुर्नवासका विभिन्न स्थानबाट लागू औषध सहित पक्राउ पर्ने क्रम बढेको छ ।
कञ्चनपुरको दक्षिणी सीमा क्षेत्र लागू औषध दुर्व्यसनीको भयावह अवस्था छ । सीमाका भारतीय बजार पलिया, सम्पुर्णानगर, खजुरिया, टिल्ला नम्बर ४, कम्बोजनगर र टाटरगन्जबाट लागू औषध भित्रिने गरेको छ । भारतीय बजार मै पुगेर लागू औषध ल्याई सीमा क्षेत्रबाट अधिकांश युवा, युवतीहरू पक्राउ पर्ने गरेका छन् ।














