खाेज्नुहाेस

सुदूरपश्चिममा एक महिनामै ५८ जनाले त्यागे प्राण

Image

अत्तरिया – सुदूरपश्चिममा आत्महत्या गर्नेको तथ्याङ्क भयावह देखिएको छ । प्रदेशमा एक महिना अर्थात् वैशाख महिनामा मात्रै ५८ जनाले आत्महत्या गरेर प्राण त्यागेको प्रहरी तथ्याङ्क छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार सार्वजनिक गरेको वैशाख महिनाको प्रगति विवरण अनुसार दैनिक औसतमा करिब २ जनाले आत्महत्या गर्ने गरेको देखिएको छ । आत्महत्या गर्नेमध्ये झुन्डिएर ५३ जना र विष सेवन गरेर ५ जना रहेको प्रहरी नायव उपरीक्षक दीपेन्द्र कुमार पालले बताए ।

उनका अनुसार आत्महत्या गर्नेमा २१ देखि ३० वर्ष उमेर समूहका धेरै छन् । सो समूहका मात्रै २३ जनाले आत्महत्या गरेका छन् । त्यस्तै १० देखि २० वर्ष उमेर समूहका १४ जना, ३१ देखि ४० वर्ष उमेर समूहका ८ जना, ४१ देखि ४० वर्ष उमेर समूहका २ जना र ५० देखि माथिका ११ जना रहेका छन् ।

attariya hospital

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदम बहादुर विष्टले डिप्रेसन, आर्थिक लेनदेन, असफलता, प्रेम सम्बन्ध आदी कारणले आत्महत्या गर्ने गरेको पाइएको बताए । उनले प्रहरीले मिसिलमै आत्महत्याको कारण उल्लेख नगरे पनि पछि अनुसन्धानका क्रममा कारणको जानकारी लिने गरेको बताए । ‘पढाइमा नम्बर आएन भनेर पनि केही दिन अघि गोदावरीमा २ जनाले आत्महत्या गरे । कतिपयले घरायसी समस्याका कारण पनि आत्महत्या गरिरहेका हुन्छन्’ उनले भने ‘कुनै काममा असफल भएपछि, प्रेम सम्बन्ध लगायतका कारण देखिने गरेका छन् ।’ साना नानी बाबुहरूले आफ्नो भनेअनुसार अभिभावकले नगर्दा पनि आत्महत्याका घटना हुने गरेको पाइएको उनले बताए ।

उनले आत्महत्या रोक्नका लागि प्रहरीले पनि सचेतनाका कार्यक्रम गर्दै आएको बताउँदै यसको रोकथामका लागि काउन्सिलिङ एकदमै आवश्यक पर्ने बताए । केही व्यक्ति डिप्रेसनमा गएमा वा आफूहरूको सम्पर्कमा आए सम्झाउने, नगरपालिकामा राखेका काउन्सिलरसँग भेटाउने काम गर्ने गरेको उनले बताए । उनले विद्यालयहरूमा पनि आत्महत्या रोकथामका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्ने गरेको बताए ।

सवारी दुर्घटना भयावह

navjiwan hospital

प्रदेशमा सवारी दुर्घटनाको अवस्था पनि भयावह नै छ । प्रदेश प्रहरी कार्यालयको वैशाख महिनाको विवरण अनुसार एक महिनाको अवधिमा १९३ सवारी दुर्घटना भएका छन् । जसमा १४ जनाको मृत्यु भएको छ भने ३१६ जना घाइते भएका छन् । प्रहरीले दुर्घटनाको कारणमा भने चालकको त्रुटि प्रमुख रहेको जनाएको छ ।

१९३ सवारी दुर्घटनामा चालकका कारणले १८२, मापसे सेवनका कारणले ३, सवारी साधनको कारणले १, यात्रुको कारणले २, सडकको अवस्थाका कारणले १ र चौपायाका कारणले ४ दुर्घटना भएका छन् । प्रहरीले सो अवधिमा ३ हजार ४२४ सवारी साधनलाई कारबाही गरेको जनाएको छ । जसबाट २८ लाख ७४ हजार ५ सय राजश्व सङ्कलन गरिएको प्रहरी नायव उपरीक्षक पालले बताए ।

सो अवधिमा विपदमा परेर पनि ११ जनाले ज्यान गुमाएका छन् । ९३ वटा विपद्का घटना भएकोमा २२ जना घाइते भएको र ८१ लाख ३२ हजार बराबरको क्षति भएको प्रहरी विवरणमा उल्लेख छ । विपद् अन्तरगत जङ्गली जनावरको आक्रमण, आगलागी, पानीमा डुबेर, सर्पले डसेर, करेन्ट लागेर र लडेर भएका घटना समावेश छन् ।

लागू औषधका दैनिक ५ जना पक्राउ

प्रदेशमा अर्को भयावह तथ्याङ्क लागू औषधको रहेको छ । प्रदेशको तथ्याङ्क अनुसार एक महिनाको अवधिमा लागू औषध सहित १६६ जना पक्राउ परेका छन् । जुन दैनिक औसतमा ५ जना भन्दा बढी हो । पक्राउ पर्नेमा १६३ पुरुष र ३ जना महिला रहेका छन् । सो अवधिमा लागू औषधका ९७ मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

पक्राउ परेकाहरूबाट प्रहरीले चरेस, खैरो हिरोइन, गाँजा र ट्याब्लेट बरामद गरेको छ । प्रहरीको विवरण अनुसार जसअनुसार चरेस ५५ ग्राम १७० मिलिग्राम, खैरो हिरोइन ३२३ ग्राम ४६६ मिलिग्राम, गाँजा ४४ ग्राम ९७० मिलिग्राम र ट्याब्लेट ५२१, एम्पुल २१ वटा रहेका छन् । प्रदेशमा लागू औषध नियन्त्रणका लागि विभिन्न जनचेतनाका कार्यक्रममा सञ्चालन हुने गरेका भए पनि यसको नियन्त्रण भने हुन सकेको छैन ।