दार्चुला – दार्चुलाको महाकाली नगरपालिका–४ बाङ्गाबगरबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
आइतबार साँझ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले ४ ग्राम ९५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ, ३८ ग्राम १५० मिलिग्राम चरेसजस्तो कालो पदार्थ र एक थान डिजिटल तराजुसहित तीन जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा दुहुँ गाउँपालिका–१ स्थायी घर भई हाल महाकाली नगरपालिका–४ बाङ्गाबगर बस्ने ३० वर्षीय रवि कुवँर, नौगाड गाउँपालिका–१ दल्लेख बस्ने २२ वर्षीय देवेन्द्र चुनारा र व्यास गाउँपालिका–१ तिङ्कर बस्ने ३४ वर्षीय प्रलभ तिङ्करी रहेका छन् ।
रवि कुवँरको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले घर तथा कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















