डोटी – जिल्लामा एक सातादेखि पेट्रोल अभाव हुँदा यहाँको जनजीवन प्रभावित भएको छ । नियमित आपूर्ति अवरुद्ध भएपछि यातायात सेवा, बजार गतिविधि र दैनिक उपभोगका कामहरूमा प्रत्यक्ष असर परेको छ । जिल्लामा दुई वटा पेट्रोल पम्प छन् । ती पम्पहरुले आवश्यक मात्रामा पेट्रोल दिन नसकेपछि सवारी साधन प्रयोगकर्ताहरू बिहानैदेखि लाइन बस्न बाध्य छन् । कतिपय दिन त पम्पमा पेट्रोल नै नआउँदा सवारी धनीहरू निराश भएर फर्किनुपर्ने अवस्था छ । विशेषगरी मोटरसाइकल प्रयोगकर्ता बढी प्रभावित भएका छन्, जसले कार्यालय, विद्यालय तथा अन्य अत्यावश्यक काममा पुग्न कठिनाइ भोगिरहेका छन् ।
पेट्रोल अभावको प्रभाव सार्वजनिक यातायातमा समेत देखिएको छ । सवारी साधन कम चल्न थालेपछि यात्रुहरूले लामो समय कुर्नुपर्ने बाध्यता बढेको छ भने कतिपय स्थानमा भाडादरसमेत वृद्धि भएको गुनासो आएको छ । ग्रामीण क्षेत्रबाट सदरमुकाम आउने–जाने यात्रुहरू झनै मारमा परेका छन् ।


यस्तै, बजारमा दैनिक उपभोग्य वस्तुहरूको ढुवानीमा समस्या उत्पन्न हुँदा व्यापार व्यवसायसमेत प्रभावित भएको छ । व्यवसायीहरूका अनुसार समयमै सामान नआउँदा बिक्री घट्नुका साथै उपभोक्ताले समेत मूल्यवृद्धि भोग्नुपर्ने अवस्था सिर्जना भएको छ । स्थानीय अटो व्यवसायी लक्ष्मण माझी धनगढीबाट पेट्रोल मगाएर सेवा दिइरहेको बताउँछन् । ’हामीले धनगढीबाट तेल मगाएर सेवा दिइरहेका छौं,’ उनले भने, ‘अभावका बीच नागरिकलाई सेवा दिन वैकल्पिक उपाय अपनाएका हौं । ’ उनका अनुसार यसरी बाहिरबाट तेल ल्याउँदा लागत बढ्ने भए पनि सेवाग्राहीलाई राहत दिन निरन्तर प्रयास भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार जिल्लामा पेट्रोल अभाव चाँडै अन्त्य हुने छ । ‘तेलको ट्यांकर आइसकेको छ, भोलिसम्म समस्या समाधान हुन्छ,’ उनले भनिन् । उनका अनुसार केही सरकारी कार्यालयमा उधारोमा गएको तेलको रकम उपलब्ध गराइएको छ भने व्यवसायीहरूले बाँकी रकम जम्मा गरेपछि बजारमा नियमित आपूर्ति हुने तयारी भइरहेको छ ।
नेपाल आयल निगम डोटीकी कार्यालय प्रमुख उर्मिला गिरीले भने रकम अभावका कारण ढुवानी भएर आएको पेट्रोल वितरण हुन नसकेको स्पष्ट पारेकी छन् । ‘तेलको गाडी आएको छ, तर भनेजति पैसा कसैले जम्मा नगरेका कारण गाडी खाली भएको छैन,’ उनले भनिन्, ‘हामी उधारोमा तेल दिँदैनौं, त्यसैले रकम सुनिश्चित भएपछि मात्रै पम्पमा पठाउन सकिन्छ ।’


















