अत्तरिया – सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याइएका सामानहरू प्रहरीले नियन्त्रणमा लिएको छ।
कैलाली जिल्लाको विभिन्न स्थानबाट अन्दाजी १ लाख ६८ हजार ५० रुपैयाँ बराबरका किराना सामान, सिद्रा माछा लगायतका वस्तुहरू मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।


त्यसैगरी, कञ्चनपुर विभिन्न स्थानबाट अन्दाजी मूल्य ५ लाख ९ हजार ७ सय बराबरका फेन्सी सामानसहित बा५२ प२४३६ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त सामग्री जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो।
यस्तै, दार्चुला जिल्लाको लेकम गाउँपालिका–५ चौपाता क्षेत्रबाट अन्दाजी मूल्य ५२ हजार १० रुपैया बराबरका श्रृङ्गार सामग्री तथा अन्य सामान इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट खटिएको टोलीले बरामद गरेको छ।
बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।
















