दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ उकु महल क्षेत्रमा १५ औँ शताब्दी आसपासका पौराणिक मन्दिरका भग्नावशेष फेला परेका छन् । पुरातत्व विभागले गरेको उत्खनन्का क्रममा मन्दिरसम्बन्धी अवशेषहरू भेटिएका हुन् । वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेती नेतृत्वको टोलीले उकु क्षेत्रमा उत्खनन् गरिरहेको छ । पुरातत्व अधिकृत हरिप्रसाद भुसालका अनुसार उत्खनन्का क्रममा ठूलो संख्यामा कलात्मक शीला, विभिन्न मूर्ति, शिखर (गजुर) का अर्धभाग, ढुङ्गेधारा, बसाहा तथा सिंह आकृतिका पत्थरका अवयवहरू फेला परेका हुन् ।
मध्ययुगीन समयमा निर्माण भएका शिव मन्दिर जस्ता संरचनाका अवशेष प्रशस्त मात्रामा भेटिएको भुसालले बताए । उनका अनुसार उत्खनन्बाट प्राप्त संरचनाको स्वरूप हेर्दा यो क्षेत्र राजा बस्ने महलभन्दा पनि मन्दिर भएको प्रारम्भिक अध्ययनले संकेत गरेको छ ।

पिपलबोट क्षेत्र आसपास उत्खनन् गर्दा मन्दिरको जग भेटिएको र महल वा मन्दिर भन्ने विषयमा थप अध्ययन जारी रहेको उनको भनाइ छ । उत्खनन्पछि ढुङ्गाहरू नापजाँच गरी नम्बरिङ गर्ने काम भइरहेको छ ।

उत्खनन्का क्रममा भेटिएका केही महत्वपूर्ण मूर्तिहरू काठमाडौंस्थित छाउनी संग्रहालयमा संरक्षणका लागि लैजाने तयारी भइरहेको पुरातत्व विभागले जनाएको छ ।
उनका अनुसार गत वर्षभन्दा यस वर्ष थप मूर्तिहरू फेला परेका छन् । उत्खनन्स्थलमा शीलालेख अंकित चट्टानहरू समेत देखिएका छन् । ढुङ्गा कुँदेर बनाइएका आकर्षक मूर्ति तथा संरचनात्मक अवशेषहरू भेटिनु महत्वपूर्ण उपलब्धि भएको बताइएको छ ।
गाउँपालिका अध्यक्ष हिरासिंह धामीका अनुसार गाउँपालिकाको समन्वयमा पुरातत्व विभागले पछिल्लो दुई वर्षदेखि निरन्तर उत्खनन् तथा अनुसन्धान गरिरहेको छ ।
क्षेत्रलाई दीर्घकालीन रूपमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको उनले बताए ।

















