खाेज्नुहाेस

शुक्लाफाटामा मनाईदैछ वन्यजन्तु सप्ताह, सोमबार समापन गरिने

Image

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह मनाईदैछ । यही वैशाख १ गतेदेखी सो राष्ट्रिय निकुञ्जमा बन्यजन्तु सप्ताह मनाउन थालिएको हो ।

विभिन्न जनचेतनामूलक तथा प्रवद्र्धनात्मक कार्यक्रमसहित सप्ताह सञ्चालन भइरहेको निकुञ्जका सहायक वार्डेन विनयकुमार झाले जानकारी दिए । ‘सुरक्षित मानिस, सुरक्षित वन्यजन्तु : जैविक विविधताको सदुपयोग, समृद्धिको सेतु’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमहरुको आयोजना भैरहेको उनले बताए ।

attariya hospital
navjiwan hospital

उनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै क्षति घटाउने र जैविक विविधताको दिगो उपयोगमार्फत समृद्धि हासिल गर्ने उद्देश्यका साथ कार्यक्रम भइरहेको बताए । उनका अनुसार निकुञ्जको मुख्य कार्यालय मझगाउँमा सरसफाइ कार्यक्रमसँगै वन्यजन्तु, वातावरण तथा जैविक विविधताबारे सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय समुदाय, विद्यार्थी र सरोकारवाला निकायको सहभागितामा संरक्षणसम्बन्धी जानकारी दिइएको छ ।

सोमबार सप्ताहको समापन गरिने बताईएको छ । निकुञ्जका रेञ्जर प्रयास केसीले सोमबार पूर्वी सेक्टर अर्जुनीस्थित पूर्व–पश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा सरसफाइ कार्यक्रम र वन्यजन्तु, जैविक विविधता र संरक्षणसम्बन्धी कार्यक्रम आयोजना गरी सप्ताह समापन गरिने बताए ।

वन्यजन्तु सप्ताहका अवसरमा निकुञ्जमा बाह्रसिङ्गा (स्वाम्प डियर) गणना कार्यक्रमसमेत सुरु गरिने उनले बताए । गणनाका क्रममा बाह्रसिङ्गाको सङ्ख्या, वासस्थान र आहाराको उपलब्धताबारे विस्तृत अनुगमन गरिने उनको भनाई छ । अघिल्लो गणनामा यहाँ बाह्रसिङ्गाको सङ्ख्या दुई हजार ३०३ रहेको पाइएको थियो । यसपटक संरक्षणका प्रयासलाई थप बढावा दिइएकाले त्यो सङ्ख्या वृद्धि हुन सक्ने अनुमान गरिएको छ ।