वासिङ्टन डिसी – विश्वव्यापी रूपमा बढ्दै गएको इन्धनको मूल्य नियन्त्रण गर्न अमेरिकी ट्रम्प प्रशासनले प्रतिबन्धित रुसी तेल खरिदका लागि दिइएको छुट लाई पुनः नवीकरण गरेको छ । रुसी तेलमा थप छुट दिने कुनै योजना नरहेको बताएको दुई दिनमै वासिङ्टनले आफ्नो अडान परिवर्तन गर्दै यस्तो निर्णय गरेको हो ।

अमेरिकी ट्रेजरी डिपार्टमेन्टले शुक्रबार अबेर आफ्नो वेबसाइटमा नयाँ इजाजतपत्र जारी गर्दै आगामी मे १६ सम्मका लागि रुसी तेल खरिद गर्न अनुमति दिएको छ । अमेरिका-इजरायल र इरानबिचको युद्धका कारण विश्व बजारमा ऊर्जाको मूल्य अत्यधिक बढेपछि त्यसलाई सन्तुलनमा राख्न ट्रम्प प्रशासनले यो कदम चालेको हो ।

यो नयाँ इजाजतपत्रले अप्रिल ११ मा समाप्त भएको ३० दिने छुटलाई प्रतिस्थापन गरेको छ । यद्यपि, यो कारोबारमा इरान, क्युबा र उत्तर कोरियालाई भने सहभागी गराउन नपाइने सर्त राखिएको छ ।
यसअघि बुधबार मात्रै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले रुसी र इरानी तेलका लागि दिइएको छुट नवीकरण नगर्ने बताएका थिए । तर, इरानी तेलको छुट आइतबार समाप्त हुन लागेको सन्दर्भमा रुसी तेलको हकमा भने सरकारले आफ्नो निर्णय उल्ट्याएको छ ।

















