बेलौरी – कञ्चनपुरमा ५ महिना अघि निर्माण सम्पन्न भएको स्विमिङ पुल मेयरको जन्मदिनको अवसर पारेर उद्घाटन गरिएको छ । बेलौरी नगरपालिका ५ सोभाताल पर्यटकीय स्थलभित्र निर्माण गरिएको स्विमिङ पुलको शुक्रवार नगरप्रमुख पोतिलाल चौधरीको जन्मदिनको अवसर परेर उद्घाटन गरिएको हो ।

पुसमा निर्माण सम्पन्न भएको उक्त स्विमिङ पुललाई आजै सोभाताल संरक्षण समितिलाई हस्तान्तरण गरिएको नगरपालिकाका इन्जिनियर जगदीश जोशीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले स्विमिङ पुल हस्तान्तरण गरिसकेपछि सञ्चालनको जिम्मेवारी समितिकै हुने छ ।

स्विमिङ पुल निर्माणमा निर्माण कम्पनीले कमसल सामाग्री प्रयोग गरिएका कारण सञ्चालनमा ढिलाइ भएको स्थानीयको आरोप छ। तर इन्जिनियर जोशीले आरोप कुनै सत्य नभएको भन्दै समयानुकूल सञ्चालन गर्न खोज्दा ढिलाइ भएको दाबी गरे ।
उनका अनुसार स्विमिङ पुल निर्माणका लागि १ करोड १६ लाख ८ हजार ५६५ रकममा २०८१ चैत्र १७ गते बासुलिङ कन्स्ट्रक्सन एन्ड सप्लार्यस सङ्ग १५ असार २०८१ मा सक्ने गरी सम्झौता भएको थियो ।
‘१ करोड पर्यटन मन्त्रालयबाट आएको थियो, १६ लाख पालिकाले थपेको रकम हो’ जोशीले भने ‘काम असारमै सकिएपनी विद्युत् सप्लाई गर्न नसकिएकाले पुससम्म सक्ने गरी म्याद थपियो ।’ जेन्जी आन्दोलनका कारण काम पुसमा सकिएपनी चिसोमा समय सञ्चालनका लागि उपयुक्त नभएकाले ढिलाइ भएको जोशीको भनाई छ ।

















