डोटी – डोटीको शिखर नगरपालिकाले आइतबार विद्यालय बन्द गर्न नसकिने भन्दै संघीय सरकारलाई पत्राचार गरेको छ । नगर प्रमुख दीर्घबहादुर बलायरले बुधबार संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार गर्दै विद्यालयमा आइतबार बिदा दिँदा वर्षभरि १३८ दिन पनि पठनपाठन हुन नसक्ने देखिएको भन्दै स्मरण गराएका छन् ।
संघीय सरकारको निर्णयअनुसार आइतबार बिदा दिँदा नगरपालिका र विद्यालयलाई शैक्षिक सत्रको कार्य योजना तथा कार्य पात्रो बनाउन नै धेरै कठिन भएको मेयर बलायरको पत्रमा उल्लेख छ ।

बिदाको हिसाब–किताब नगरपालिकाको पत्रमा आइतबार बिदा दिँदा वार्षिक विद्यालय क्यालेन्डरको हिसाब–किताब नै गरेर पठाइएको छ । जसमा वर्षका ३६५ दिनमध्ये ५२ दिन शनिबार बिदा हुने र त्यसमा ५२ दिन आइतबार थपेपछि प्रदेशका ३२ सार्वजनिक बिदा जोडेर १३६ दिन हुने खुलाइएको छ ।

यस्तै शिक्षा नियमावली २०५९ को नियम ८५ (२) अनुसार घटस्थापनादेखि पूर्णिमासम्म पाँच दिन दसैं बिदा, नियम ८५ (३) अनुसार हिउँदे वा वर्षे वा दुवै गरी ४५ दिन बिदा, नियम ८५ (४) अनुसार विद्यालयले थप ५ दिन स्थानीय बिदा दिनसक्ने भएकाले यी बिदा मात्रै थप ५५ दिन हुने कानुनी प्रावधान नै रहेको पत्रमा भनिएको छ ।
‘यसरी विद्यालय खुल्ने दिन १७४ मात्र बाँकी रहन्छ,’ पत्रमा भनिएको छ । यस्तो अवस्थामा शिक्षा नियमावलीको नियम ८४ (५) अनुसार कम्तीमा २२० दिन विद्यालय खुल्नुपर्ने भन्ने कानुनी प्रावधान नै उल्लंघन हुनेमा मेयर बलायरले शिक्षा मन्त्रालयलाई सचेत गराएका छन् ।
‘नेपालको हालको विद्यालय शिक्षाको पाठ्यक्रम अनुसार कम्तीमा १८०–१९० दिन खुद पठनपाठन हुनुपर्ने गरी निर्दिष्ट गरिएको छ,’ पत्रमा अगाडि भनिएको छ, ‘तर विद्यालय खुल्ने १७४ दिनबाट तीन पटक गरी २१ दिन परीक्षा सञ्चालनका लागि खर्च हुन्छ । वैशाख १५ गते अगाडि र चैत्र परीक्षा समाप्त भएपश्चात् गरी कम्तीमा १५ दिन पठनपाठन हुँदैन ।’
यसरी आइतबार बिदा दिँदा पठनपाठनका लागि १३८ दिन मात्रै बाँकी रहने कुरा पत्रमै हिसाब खुलाएर शिखर नगरपालिकाले शिक्षा मन्त्रालयलाई पठाइएको छ ।

















