खाेज्नुहाेस

अमेरिकी नाकाबन्दीविरुद्ध इरान राष्ट्रसङ्घ पुग्यो

Image

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घका लागि इरानी राजदूत अमिर सइद इरवानीले अमेरिकी सैनिक नाकाबन्दीको कडा निन्दा गर्दै राष्ट्रसङ्घलाई अमेरिकामाथि कारबाही गर्न माग गरेका छन्। महासचिव एन्टोनियो गुटेरेस र सुरक्षा परिषद्का अध्यक्षलाई पत्र लेख्दै राजदूत इरवानीले अमेरिकाको यो कदमलाई “क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्ने आक्रामक कार्य” को संज्ञा दिएका छन्।

navjiwan hospital

इरानी राजदूतले अमेरिकी कदमले इस्लामिक गणतन्त्र इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको घोर उल्लङ्घन गरेको बताएका छन्। उनले गत अप्रिल १२ मा अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले गरेको घोषणालाई “सैनिक आतंकवाद” भन्दै यसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा २, अनुच्छेद ४ को स्पष्ट उल्लङ्घन गरेको दाबी गरेका छन्। पत्रमा अमेरिकाको अवैध नाकाबन्दीले समुद्र सम्बन्धी अन्तर्राष्ट्रिय कानुन समेत मिचेको उल्लेख गरिएको छ।

attariya hospital

इरानले आफ्नो सार्वभौम अधिकारमा अमेरिकाले हस्तक्षेप गरिरहेको र तेस्रो मुलुकको वैध समुद्री व्यापारमा अवरोध पुर्‍याएको आरोप लगाएको छ। “इरानले आफ्नो सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राष्ट्रिय हितको रक्षा गर्न आवश्यक उपायहरू गर्ने ‘अन्तर्निहित अधिकार’ सुरक्षित राख्छ,” राजदूत इरवानीले पत्रमा उल्लेख गरेका छन्। उनले यो गैरजिम्मेवारपूर्ण कार्यबाट उत्पन्न हुने सबै परिणामहरूको पूर्ण जिम्मेवारी अमेरिकाले नै वहन गर्नुपर्ने चेतावनी समेत दिएका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि अमेरिकी सेनाले मध्यपूर्वमा कम्तीमा १५ वटा लडाकु जहाजहरू परिचालन गरेको छ। सीएनएनका अनुसार यी जहाजहरूले इरानी बन्दरगाहहरूको समुद्री नाकाबन्दीमा भाग लिने तयारी गरेका छन्। पाकिस्तानमा भएको द्विपक्षीय वार्तामा कुनै सहमति हुन नसकेपछि ट्रम्पले इरानमाथि कडा नौसैनिक नाकाबन्दीको घोषणा गरेका हुन्। इरानले तत्काल अन्तर्राष्ट्रिय हस्तक्षेपको आह्वान गर्दै सुरक्षा परिषद्लाई यो नाकाबन्दी रोक्न कदम चाल्न आग्रह गरेको छ।