खाेज्नुहाेस

आजदेखि नयाँ वर्ष २०८३ साल सुरु 

Image

अत्तरिया – आजदेखि विक्रम संवत् २०८३ साल सुरु भएको छ । विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक संवत्का रुपमा विक्रम संवत् चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो संवत् चल्छ । भारतमा सरकारी संवत् शक संवत् भए पनि व्यवहारमा इस्वी संवत् चलेको छ । १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम संवत्को प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासका जानकारहरू बताउँछन् ।

navjiwan hospital

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

attariya hospital

नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।

आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदान–प्रदान गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर राम्रो हुने जनविश्वास छ ।