डाेटी- एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड डोटी शाखा कार्यालयले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
डोटीको शिखर नगरपालिका–१ कपल्लेकीस्थित केदारेश्वर माध्यमिक विद्यालयका २० जना न्यून आय भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई सामग्री वितरण गरिएको छ।
कम्पनीको १८औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमै आयोजित कार्यक्रममा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।


कार्यक्रममा शिखर नगरपालिका–१ का वडा अध्यक्ष दिपक बोगटीले कम्पनीले विद्यार्थीहरूको शैक्षिक सहयोगमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक गगन बहादुर कार्कीले विद्यालयप्रति देखाएको सहयोगका लागि कम्पनीप्रति आभार व्यक्त गरे । कार्यक्रममा २० जना विद्यार्थीलाई प्रतिव्यक्ति एक थान झोला, आधा दर्जन कापी, आधा दर्जन डटपेन र एक–एक वटा ज्यामिती बक्स वितरण गरिएको थियो। साथै विद्यालयलाई एक थान भलिबल समेत हस्तान्तरण गरिएको थियो।

केशव बहादुर विष्ट को सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक बोगटी प्रमुख अतिथि तथा प्रधानाध्यापक गगन बहादुर कार्की विशेष अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमको सञ्चालन राजेन्द्र प्रसाद अवस्थीले गरेक थिए भने स्वागत मन्तव्य नवराज भण्डारीले राखेका थिए ।


















