धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन हुँदा सुदूरपश्चिम प्रदेशबाट दुई जना मन्त्री बनेका छन । शुक्रबार गठन भएको बालेन शाह नेतृत्वको सरकारमा कञ्चनपुरमा जन्मिएका प्रतिभा रावल र गीता चौधरी मन्त्री बनेका हुन । प्रतिभा रावल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी छन् । रास्वपाकी सहप्रवक्ता समेत रहेकी उनी समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
एक दशकभन्दा बढी समय पत्रकारिता गरेकी रावलले साउथ एसिया फ्याक्ट चेक, रिपब्लिका दैनिक र ग्यालेक्सी फोरके टेलिभिजनमा काम गरेकी छन् । रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा रहेर काम गरेकी थिइन् । रवि लामिछानेलाई उनले कानूनी पाटोमा पनि निकै सहयोग गरेकी छन् । रास्वपाभित्र उनी शालिन र जुझारु नेतृको रूपमा परिचित छिन् ।
रास्वपा गठनको सुरुआतदेखि नै सक्रिय रहँदै आएकी रावल पहिलो प्रयासमै कार्यपालिकामा पुग्न सफल भएकी छन् । यसअघि उनको नाम सभामुखका लागि समेत चर्चामा आएको थियो । तर रास्वपाले सभामुखमा उपसभापति डीपी अर्याललाई पठाउने तयारी गरेको छ ।

कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका–४ की ३३ वर्षीया गीता चौधरी कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री बनेकी छन् । साधारण थारू परिवारमा जन्मिएकी चौधरीको जीवन सङ्घर्षपूर्ण रहेको छ ।

आर्थिक अभावकाबीच साहुबाट ऋण लिएर पढाइ अघि बढाएकी उनले कानुनमा स्नातकोत्तर गरेकी छन् । अधिवक्ताका रूपमा उनले विशेष गरी गरिब, दलित र सीमान्तकृत समुदायका लागि काम गरिन् ।
उनले १५० भन्दा बढी नागरिकलाई कानुनी परामर्श दिएकी छन्, विशेषतः जग्गा विवाद र घरेलु हिंसासम्बन्धी मुद्दामा । राजनीतिक रूपमा उनी २०६२÷०६३ को आन्दोलनपछि सक्रिय भइन् ।
प्रारम्भमा अनेरास्ववियुमार्फत राजनीति सुरु गरेकी उनले पछि नेकपा एमाले त्यागेर नागरिक उन्मुक्ति पार्टीबाट २०७९ को प्रदेशसभा निर्वाचन लडेकी थिइन्, तर पराजित भइन् ।
चौधरीको काँधमा भूमिहीन समस्या समाधान, सुकुम्वासीलाई लालपुर्जा वितरण, किसानलाई मल–बिउको सहज आपूर्तिको जिम्मेवारी आएको छ । रावलको काँधमा सुशासन र सहज सेवाको जिम्मेवारी आएको छ ।


















