खाेज्नुहाेस

यस्तो सामुदायिक विद्यालय, जहाँ अफिसबाटै गरिन्छ कक्षा कोठाको निगरानी

Image

सन्तोष पन्त, बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिका भरी ३१ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमा माध्यमिक विद्यालय १४, आधारभूत विद्यालय ५ र प्राथमिक विद्यालय १२ वटा रहेका छन् । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीहरूको कमै रुचि देख्न पाइन्छ । निजी विद्यालयमा विद्यार्थीहरूको बढ्दो आकर्षण बिच बेलौरीको एक सामुदायिक विद्यालयले पालिका भरीका सामुदायिक विद्यालयलाई चुनौती दिइरहेको छ ।

बेलौरी नगरपालिका – ९ खजुवावस्ती स्थित रहेको श्री सिद्धकेदारनाथ आधारभूत विद्यालय बेलौरी भरीकै उत्कृष्ट विद्यालय हो भन्दा फरक नपर्ला । प्राय : समुदायमा सामुदायिक विद्यालयमा पढाइ राम्रो हुँदैन, विद्यार्थीहरू अनुशासनमा बस्दैनन् भन्ने गलत भाष्यलाई यो विद्यालयको गतिविधिले भने गलत साबित गरेको छ । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीहरू घट्दो अवस्थामा रहेपनी यो विद्यालयमा बढिरहेका छन् ।

attariya hospital

‘२०७५ सालमा मैले यो विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको हु । त्यस बेला ९१ विद्यार्थी थिए, अहिले १ सय ८२ पुगी सकेका छन्’ विद्यालयका प्रधानाध्यापक परमानन्द जोशीले भने । २०५३ सालमा स्थापना भएको यो विद्यालय पालिका भरीमै सिसिटिभी जडान भएको पहिलो विद्यालय पनि हो । यो आर्थिक वर्षबाट अडियो जडान गरी अफिसबाटै कक्षा कोठा निगरानी समेत गर्ने गरिएको छ ।

‘विद्यालयमा आजभन्दा ४ वर्ष अगाडि नै सिसिटिभी जोडिएको थियो,यो वर्ष देखि अडियो पनि छ’ प्रधानाध्यापक जोशीले भने ‘अब अफिसबाटै कक्षाकोठामा शिक्षक, विद्यार्थीले के गरिरहेका छन् भन्ने बारे हेर्न र आवश्यक निर्देशन दिन सजिलो भएको छ ।’

यो विद्यालय पालिकाभरिकै एउटा यस्तो यस्तो विद्यालय हो,जहाँ शुक्रवार पनि पुरै पढाइ हुने गरेको छ । प्रायः सामुदायिक विद्यालयमा १० बजे विद्यार्थीहरू आईपुग्छ्न अनि पिटी गर्ने अभ्यास रहेको छ । तर यो विद्यालयमा भने १० बज्नु भन्दा ५ मिनेट पहिल्यै विद्यार्थीहरू आ–आफ्नो कक्षाकोठामा बसिहाल्छन् । १० बज्नासाथ घण्टी लाग्छ । अनि पिटीका लागि ट्युन बजेपछि प्रत्येक कक्षाबाट क्रमबद्ध लाइनमा विद्यार्थीहरू आउँछन् ।

प्रत्येक कक्षाको लाइन अगाडि शिक्षक शिक्षिका उभिएर पिटी गरिन्छ । त्यही ई–हाजिरी पनि हुन्छ । अनुशासित तवरले पिटी सक्काएर विद्यार्थीहरू आआफ्नो कक्षाकोठामा लाग्छन् । यो असल अभ्यासले नै यो विद्यालयलाई अन्य भन्दा खास बनाएको हो । यस्तो अभ्यास पालिकाका अन्य विद्यालयमा लागू छैन ।

navjiwan hospital

चुनौती पनि उतिकै

नर्सरी देखि कक्षा ३ सम्म यो विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाई हुन्छ । यो आर्थिक वर्षबाट त ५ कक्षा सम्म नै अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरिने तयारी समेत रहेको छ । नर्सरी देखि नै निःशुल्क शिक्षा गरिएपनी अभिभावकहरूले विद्यार्थीका लागि चाहिने पुस्तक किन्न नै महँगो पर्ने प्रधानाध्यापक जोशी बताउँछन् ।

जोशी भन्छन् ‘यो विद्यालयमा आरक्ष पीडित, दलित, जनजाति समुदायका विद्यार्थीहरू छन् । पढाइ निःशुल्क गरेपनि नर्सरी देखि युकेजीसम्म प्राइभेट पब्लीकेसनका किताब महँगोमा किन्नुपर्ने अभिभावको बाध्यता छ । यसको समाधानको लागि सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।’

उनले गत वर्षकै शिक्षकहरूलाई २ लाख जति त तलब दिन बाकी रहेको बताए । १२ शिक्षक रहेको विद्यालयमा स्थायी १ जना मात्र शिक्षक छन् । प्रधानाध्यापक जोशीका अनुसार विद्यालयमा दरबन्दी शिक्षक १, राहत अनुदान ३, शिक्षण अनुदान २, बालबिकास १ र निजी स्रोत ४ शिक्षक रहेका छन् ।

‘हामीले विद्यालयबाट सकेसम्म राम्रो दिन प्रयास गरीपने हामीसँग जनशक्ति अभाव छ’ उनले भने ‘शिक्षकलाई त हामीले गत वर्षकै तलब दिन सकेकै छैनौ । विद्यालयको आम्दानीको स्रोतले तलब खुवाउन गाह्रो छ ,तैपनि स्थानीय स्तरबाट राम्रै सहयोग पाइरहेका छौ ।’

उनले विद्यालयको आम्दानीको स्रोत डेढ बिगाहामा रहेको आमबारी र माछा पोखरी रहेको बताए । विद्यालयले अबको ५ वर्षमा शैक्षिक गुणस्तर अझै सुधार गरी ५ सय विद्यार्थी थप्ने योजना बनाइरहेको उनले बताए । यसका लागि सरोकारवाला निकायले आवश्यक सहयोग गर्नु भने जरुरी रहेको उनको भनाइ छ ।

अन्य सामुदायिक विद्यालयको तुलनामा सिद्धकेदारनाथको गतिविधि सम्मानजनक रहेको बेलौरी नगरपालिकाका शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्टले बताए । ‘यो विद्यालयले असल अभ्यास गरिरहेकै छ ,पालिकाका सामुदायिक विद्यालयहरूको प्रअहरुको बैठकमा यो विद्यालयले गरेको काम कुरा उठिरहन्छ’ भट्टले भने ‘राम्रो कुरा असल अन्य विद्यालयहरूले पनि लागू गर्नुपर्छ ।’ पालिकाले विद्यालयलाई पूर्वाधार देखि शैक्षिक सरसमानमा सहयोग गरिरहेको उनको भनाई छ । उनका अनुसार गत वर्ष मात्रै सो विद्यालयमा ४ कोठे भवन पालिकाले नै बनाएको हो ।

स्थायी दरबन्दी शिक्षकको अभावबारे उनले २०७६ देखि पालिकाबाटै राहत दरबन्दी विद्यालयमा खटाएको बताए । नयाँ वर्षदेखि थप सुधारका लागि आवश्यक कार्यक्रम ल्याउने उनको भनाई छ ।