खाेज्नुहाेस

तीव्र गतिमा निर्माण हुँदै दोधारा–चाँदनी सुक्खा बन्दरगाह

Image

महेन्द्रनगर – कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र गतिमा भइरहेको छ । सन् २०२५ डिसेम्बर २४ देखि निर्माण सुरु भएकामा हालसम्म चार दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलमा संरचनाको काम भइरहेको जानकारी दिए ।

‘भारत सरकारको प्राविधिक र आर्थिक सहयोगमा निर्माणाधीन सुक्खा बन्दरगाहको आर्थिक प्रगति तीन दशमलव पाँच प्रतिशत छ,’ उनले भने, ‘माटो फिलिङ, पर्खाल निर्माण, आवास निर्माणका साथै मलेरिया नालामा पुलका लागि जग निर्माण हुँदैछ ।’

attariya hospital
navjiwan hospital

इन्जिनियर केसीका अनुसार दुई अर्ब ३७ करोड रुपैयाँ भारतीय रुपैयाँमा निर्माण भइरहेको सुक्खा बन्दरगाह तीस महिनाभित्र सम्पन्न गरिसक्नुपर्नेछ । बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनमा एक हजार ७०५ रुख कटानी यसअघि गरिएका थियो । उक्त बन्दरगाह निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच सन् २०२३ जुन १ तारिखमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

२०६४ मा सरकारले कञ्चनपुरको दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणा गरेको हो । लामो समय जग्गा उपलब्ध नहुँदा निर्माणको विषय अन्योल बनेको थियो ।

बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, क्वारेन्टाइन भवन, भन्सार जाँच भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायत पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । भारततर्फबाट पनि सुक्खा बन्दरगाह सम्मको पहुँचमार्गको काम पनि जारी छ ।