खाेज्नुहाेस

कर्णाली करिडोर सडक खन्ने क्रममा भेटिए मानवकंकाल

Image

बाजुरा– कर्णाली करिडोर सडकअन्तर्गत सडक खन्नेक्रममा बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका–१ पादुका नजिकै पुराना भग्नावशेष तथा मानकंकालका हड्डीहरू भेटिएका छन । डोजरले सडक खन्न क्रममा एकै ठाउँमा ठुला ठुला खाडल र खडल भित्र मानवकंगाल भेटीएका हुन । सो क्षेत्रमा भेटीएका मानव कंगालका विषयमा उचित खोज अनुसन्धान हुनुपर्ने आवाज उठ्न थालेको छ ।

स्थानीयका अनुसार सडक विस्तारका क्रममा जमिन खन्दा पुराना संरचनाका अवशेषसँगै मानव कंकाल जस्तो देखिने हड्डीहरू फेला परेका बताएका छन । उक्त स्थान पहिले गिरी, पुरी, नाथ र भारती समुदायका व्यक्तिहरूको मृत्यु हुँदा अन्त्येष्टि गरिने समाधिस्थल (समाधि स्थल) रहेको हुन सक्ने स्थानीयको भनाइ छ ।

attariya hospital
navjiwan hospital

‘यस्ता पुराना अवशेष भेटिँदा पुरातात्विक महत्व पनि हुन सक्छ, त्यसैले विशेषज्ञ टोली ल्याएर अध्ययन गरिनुपर्छ,’ एक स्थानीयले बताए । यद्यपि, अहिलेसम्म यस विषयमा सम्बन्धित सरकारी निकाय वा पुरातत्वसम्बन्धी निकायबाट औपचारिक अध्ययन वा अनुसन्धान सुरु नभएको स्थानीयको गुनासो छ ।

जानकारहरूका अनुसार यस्ता भग्नावशेष र कंकाल फेला परेमा त्यसको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक पृष्ठभूमि पत्ता लगाउन पुरातत्वविद् तथा सम्बन्धित निकायबाट वैज्ञानिक अध्ययन गरिनु आवश्यक हुन्छ । यसले क्षेत्रको इतिहासबारे महत्वपूर्ण तथ्य उजागर गर्न सक्ने विश्वास गरिएको छ ।

स्थानीयले सडक निर्माणसँगै यस्ता सम्भावित ऐतिहासिक सम्पदाको संरक्षणमा ध्यान दिन र आवश्यक परे काम केही समय रोकेर अनुसन्धान गर्न माग गरेका छन् ।