अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले नेपाल सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको हो ।

प्रमाणपत्र पाएपछि कम्पनीले उत्पादन गर्दै आएका विभिन्न प्रकारका पेन्ट तथा सम्बन्धित सामग्रीहरू अन्तर्राष्ट्रिय स्तरको गुणस्तर, सुरक्षा मापदण्ड तथा वातावरणीय मापदण्ड अनुरूप रहेको पुष्टि हुने कम्पनीले जनाएको छ ।

गुणस्तर प्रमाणपत्र पाएपछि नेपाल सरकार तथा अन्तरराष्ट्रियस्तरबाट भविष्यमा निर्माण हुने संरचनाहरूमा कम्पनीका उत्पादनहरू आपूर्ति गर्न सहज हुने जनाइएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक नवीन प्रसाद भट्टले कम्पनीका लागि यो ठुलो उपलब्धि भएको बताए । उनले भने ‘यो उपलब्धि सम्पूर्ण टिमको कडा मेहनत, समर्पण र ग्राहकप्रति हाम्रो जिम्मेवारीको परिणाम हो । हामी आगामी दिनहरूमा अझ उच्च गुणस्तरका उत्पादनहरू बजारमा ल्याउँदै उपभोक्ताको विश्वासलाई कायम राख्नेछौँ ।’
सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले सधैँ उच्च गुणस्तर, नवप्रवर्तन, तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशहरूमा बलियो बजार सञ्जाल भएको यस कम्पनीले काठमाडौँमा कार्पोरिट अफिस तथा बिक्री डिपो स्थापना गरी बागमती प्रदेशका विभिन्न स्थानहरूमा डिलर सञ्चालन गरिसकेको र बाँकी गण्डकी कोसी र मदेश प्रदेश मा डिलरहरू नियुक्तिको प्रक्रियामा रहेको प्रबन्ध निर्देशक भट्टले बताए ।



















