खाेज्नुहाेस

बेलडाँडीमा दरबन्दी मिलानको विषय अदालत पुगेपछि गणित शिक्षक विहीन बन्यो गणेश मावि

Image

सन्तोष पन्त, बेलौरी – कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले गरेको दलबन्दी मिलानको विषय अदालत पुगेपछि वडा नम्बर ५ भुर्षामा रहेको गणेश मावि गणित शिक्षक विहीन बनेको छ । गाउँपालिकाले असोज ९ गते निर्णय गरेर कार्तिक ११ गते दरबन्दी मिलान गरी गणेश माविमा पठाइएका शिक्षकले असन्तुष्टि जनाउँदै प्रशासकीय अदालत पुगेपछि विद्यालय गणित शिक्षक विहीन बनेको हो ।

गाउँपालिकाले दरबन्दी मिलान तथा व्यवस्थापन गर्न असोज ९ गते कार्यपालिकाबाट निर्णय गरेअनुसार बेलडाँडी गाउँपालिका –२ मा रहेको शैलेश्वर माविका शिक्षक कृपाराम उपाध्यायलाई गणेश मावि र गणेश माविका शिक्षक गणेश चौधरीलाई शैलेश्वर माविमा सरुवा गरेको थियो । रौलेश्वर माविका प्रधानाध्यापक समेत रहेका स्थायी गणित शिक्षक कृपाराम उपाध्यायलाई राहत दरबन्दी भएको गणेश माविमा कार्तिक ११ गते हुलाक मार्फत सरुवाको पत्र दिइएपछि उपाध्यायले प्रशासकीय अदालतमा मुद्दा हालेका थिए ।

attariya hospital
navjiwan hospital

उनको मुद्दापछि कार्तिक २७ गते अदालतले सरुवा, पदस्थापन सम्बन्धी कुनै कार्य नगर्न गाउँपालिकालाई आदेश जारी गरेको थियो । प्रशासकीय अदालतको आदेशपछि सरुवा रोकिएका उपाध्यायले फेरि रौलेश्वर माविमा नै हाजिरी गरेपछि शैलेश्वर माविमा २ जना गणित शिक्षक भएका छन् भने गणेश मावि गणित शिक्षक विहीन बनेको छ ।

गणितको शिक्षण नभएपछि गणेश माविको विद्यालय व्यवस्थापन समितिको निर्णयबाट कामचलाउन विज्ञान शिक्षक दिल बहादुर सिंह मार्फत अध्यापन गराइरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख भानुभक्त जोशीले जानकारी दिए ।

‘पालिका भित्रका विद्यालयमा शिक्षकहरूको दरबन्दी मिलान गर्न खोजेका थियौ, अन्य विद्यालयमा भयो, गणेश माविमा शिक्षकलाई चित्त बुझेन’ जोशीले भने ‘त्यसपछि अदालतले रोकेपछि रिक्त शिक्षकमा त्यसै विद्यालयका विज्ञान पढाउने सरलाई व्यवस्थापन समितिले मिलाएको छ ।’

उनले अदालतले यो मुद्दामा अन्तरिम आदेश नदिँदासम्म त्यो समस्या समाधान हुन नसक्ने पनि बताए । ‘अदालतले रोकिसकेको अवस्था हामीले नयाँ शिक्षक पनि राख्न मिल्दैन, अन्तरिम आदेश दिई पालिकाको निर्णयलाई सदर बदर गरिए यो समस्या समाधान हुन्छ’ जोशीले भने । उनले गणेश माविका शिक्षक गणेश चौधरी शैलेश्वर माविमा हाजिर भएपछि अदातलको आदेश आएकाले पुनः गशेण चौधरी सरलाई गणेश माविमा पठाउन पनि नमिल्ने बताए ।