कञ्चनपुर – कञ्चनपुर स्थित महाकाली नदीमा र्याप्टिङ सुरु गरिएको छ । भीमदत्त नगरपालिका–९ खल्ला मुसेट्टीमा सोमबार देखि ५ वटा र्याप्टिङ बोटमा व्यावसायिक रूपमा र्याप्टिङ सुरु गरिएको हो । गैरसरकारी संस्था निड्स नेपालको पहलमा भीमदत्त नगरपालिका, नेपाल पर्यटन बोर्ड लगायतको सहकार्यमा नियमित रूपमा सञ्चालन हुने गरी जलयात्रा सुरु गरिएको हो ।

महाकाली सीमा नदी हो । सीमा नदीको पानीको बाँडफाँटदेखि अनेक मुद्दा थाती छन् । भीमदत्त नगरपालिका–९ को पारिपट्टि भारतीय व्यवसायीहरूले नियमित रूपमा र्याप्टिङ गर्दै आएका छन् । नेपालतर्फ पनि र्याप्टिङका लागि प्रयास नभएको होइन । २०७७ देखि नै संघसंस्था र स्थानीय तहले प्रयास गर्दै आएका थिए । विगतमा परीक्षणका रूपमा मात्रै हुने भए पनि यसपटकदेखि व्यावसायिक रूपमै सुरु गरिएको र्याप्टिङ गाइड भाटले बताए ।

‘अब बर्खा नलागेसम्म नियमित र्याप्टिङ गरिनेछ,’ उनले भने, ‘हामीले यही क्षेत्रमा तालिम लिनेदेखि अभ्यास लगायतका सबै काम गरेका छौं, निकै मिहिनेत गरेर यो क्षेत्रमा र्याप्टिङ सुरु गर्न सकिएको हो ।’ उनले स्थानीय स्तरमै युवाहरूले गाइडको तालिम लिएर महाकाली नदीमा व्यावसायिक रूपमै र्याप्टिङ सुरु गर्न सकिएको बताए । उनीसहित तीन जनाले र्याप्टिङ गाइडको तालिमसँगै विभिन्न क्षेत्रमा पुगेर अभ्याससमेत गरिसकेका छन् ।
सोमबार नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्ट, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बुलगायत जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा र्याप्टिङको शुभारम्भ गरिएको हो । शुभारम्भमा एक दर्जन बढी र्याप्टिङ प्याकेज बिक्री भएको गाइड भाटले बताए ।
भीमदत्त नगरपालिका– ९ मुसेट्टीदेखि खल्लासम्म करिब ३ किलोमिटरको दूरी छ । उक्त दूरीमा र्याप्टिङ गर्न १५ मिनेटदेखि आधा घण्टासम्म लाग्छ । र्याप्टिङदेखि सुनसान रूपमा नदी बग्नेसम्मका दृश्य यो क्षेत्रमा पर्छन् ।

















