खाेज्नुहाेस

एसएसबीले रोक्दा ५ वर्षदेखि बेलौरीका हरिदासको खेत बाझै, अब बालेन रबीको आस

Image

सन्तोष पन्त, बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिका – १० सडकघाटका हरिदास चौधरीले ५ वर्ष देखि भारतीय सीमा सुरक्षा बल (एसएसबी) का कारण आफ्नो खेत जोत्न पाएका छैनन् । चौधरीको राम्रो उब्जनी हुने करिब ११ कट्ठा जमिन अहिले बन्झड बनिसकेको छ ।

नेपाल सरकारले लालपुर्जा हातमा दिएको भएपनी उनले उपभोग गर्न भने पाइरहेका छैनन् । ‘मेरा बुबा बाजेले खनजोत गर्दै आइरहेको जमिनमा ५ वर्ष बढी भइसक्यो, मैले खेती लगाउनै पाएको छैन’ चौधरी भन्छन् ‘कोरनाकाल अघिसम्म निरन्तर खेती गर्दै आइरहेको जमिनमा त्यसपछि एसएसबीले यो खेत खनजोत गर्नै दिएको छैन ।’

attariya hospital

सडकघाट देखि भारतको ४ नम्बर जाने बाटोको सीमानामा पर्ने उनको जमिन एसएसबीले आफ्नो देशमा पर्ने दाबी गर्छ । २०५५ सालमा श्री ५ सरकारको सुकुम्वासी समस्या समाधान आयोगले उनलाई लालपुर्जा दिएको थियो । चौधरी भन्छन् ‘५५ सालमा सरकारले पुर्जा दिएको हो, त्यसयता निरन्तर खेती गर्दै आइरहेको थिए । २०७६ पछि खेतमा एसएसबीले जानै दिँदैन ।’

उनका अनुसार उनीसहित अन्य ३ जनाको जमिन पनि त्यहाँ एसएसबीले खनजोत गर्न दिएको छै । सबै मिलाएर करिब २ बिगाहा भन्दा बढी पुर्जावाला जमिन किसानले उपभोग गर्न नपाउँदा खेत बन्झड बनिसकेको छ । नेपाल तर्फ खेत बन्झड भएपनी पारी भने भारतीयले खेती गरिरहेका छन् ।

navjiwan hospital

‘२०७७ पछि एसएसबीले रोकेको हो, पटक पटक खेत जोत्न जाँदा एसएसबीले रोक्छ’ चौधरीले भने ‘एसएसबीले यो जमिन हमारे नक्सेमे है, तुम आपनी सरकार से मागो भनेर खनजोत गर्न दिँदैन मेरो खेत पारी इन्डियनले खेती गरिरहेकै छ ।’ एसएसबीले रोक्दा नेपालतर्फबाट भने कुनै किसिमको सहयोग नपाएको चौधरीको गुनासो छ ।

चौधरी उक्त जमिन उपभोग गर्न नपाइए नेपाल सरकारले व्यवस्थापन गर्नुपर्ने बताए । फागुन २१ गतेको निर्वाचन पछि बन्ने नयाँ सरकारले आफूहरूको माग सम्बोधन गर्नेमा उनले विश्वास गरेका छन् । ‘अघिल्लो सरकारले गर्छौ गर्छौ भने केही गरेनन्, अब रबी–बालेन आएका छन् यिनले केही गर्लान् कि भन्ने आशा राखेका छौ ।’ उनले भने ।

सीमा समस्या समाधान जिल्लाभरि नै रहेको हुँदा यसको समाधान माथिल्लो स्तरबाट मात्रै हुने कञ्चनपुरका सशस्त्र प्रहरी प्रमुख प्रेम सिग्दलले बताए । ‘यस्तो सीमा समस्या जिल्लाभरि नै हो, चुनावपछि दुई देशको सीमा सर्वे टिम खटिने भन्ने छ । हामीले त अहिले अवस्था यथावत् राखी सुरक्षा मात्र दिन सक्छौ, समस्या समाधान माथिल्लो तहबाटै हुन्छ’ सिग्देलले भने ।

भारत सँग सीमा जोडिएको कञ्चनपुरको बेलौरी, पुर्नवास, बेलडाडी, भीमदत्त र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा सीमा विवाद हुँदै आएको छ । स्ट्रप नक्सा आधारमा भारतले नेपाली लालपुर्जा भएको हजारौँ बिगाहा भन्दा बढी जमिनलाई आफ्नो क्षेत्र दाबी गर्दा सीमा क्षेत्रमा प्राय विवाद भइरहेको छ ।
भारतले नेपाली जमिन मात्र नभई बनेको बाटो, भौतिक संरचनालाई आफ्नो दाबी गरिरहन्छ । पुनर्वासको प्याराताल, बेलौरीमा १५ सय मिटर हुलाकी सडक खण्ड, सिचाइ नहर समेत भारतमा पर्ने दाबी गरिरहेको स्थानीयहरू बताउँछन् । हुलाकी सडक त एसएसबीले निर्माण गर्न नै दिइरहेको छैन ।

यसको समस्या समाधानका स्थानीय, जनप्रतिनिधि, विभिन्न सरोकारवाला निकायहरूले बारम्बार अबाज उठाउँदा समेत समस्या ज्युँका त्युँ छ । सीमा क्षेत्रका किसान समस्या समाधान गर्न सरकार पर्खिरहेका छन् ।