अत्तरिया – नेपाली कांग्रेसका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ ले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिताअनुसार उनले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका हुन् ।


बिष्टले सार्वजनिक गरेको विवरणअनुसार निर्वाचन अभियानमा २६ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ । जसमा प्रचार–प्रसार सामग्री छपाइमा ४ लाख ३८ हजार, मिडिया प्रचारमा १ लाख, सभा तथा कोण सभामा ३ लाख, सवारीसाधन तथा इन्धनमा ७ लाख, निर्वाचन कार्यालय सञ्चालनमा ४ लाख ४२ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।
त्यसैगरी स्वयम्सेवक तथा कार्यकर्ता व्यवस्थापनमा ३ लाख २८ हजार, प्रचार सामग्री ढुवानी तथा वितरणमा ६८ हजार, फोटो, भिडियो तथा डिजाइनमा १ लाख, मतदाता भेटघाट कार्यक्रममा २ लाख र अन्य विविध शीर्षकमा २० हजार रुपैयाँ खर्च भएको उनले जनाएका छन् ।
निर्वाचन कानुनअनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि तोकिएको समयभित्र आफ्नो खर्च विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ ।



















