अत्तरिया – अघिल्लो निर्वाचनमा सुदूरपश्चिमबाट ६ क्षेत्रमा जितेका सांसदको शक्ति मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सबै क्षेत्र गुमाएको छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र नेता भीम रावलको समूह मिलेर बनेको नेकपामा अघिल्लो निर्वाचनबाट जितेका ६ प्रतिनिधि सभा सांसद रहेका थिए ।
जसमा नेकपा एकीकृत समाजवादीबाट जितेका ३ र नाउपाबाट जितेका ३ सांसद रहेका थिए । जसमध्ये ३ क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), २ क्षेत्र नेपाली कांग्रेस र १ क्षेत्र नेकपा एमालेले खोसेको छ ।

नेकपामा मिसिएको तत्कालीन नेकपा एकीकृत समाजवादीले बझाङ, डोटी र अछाम १ मा चुनाव जितेको थियो ।
बझाङमा नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी विजयी भएका थिए । यस क्षेत्रमा यस पटकको निर्वाचनमा नेकपाले मीन बहादुर कुँवरलाई उम्मेदवार बनाएकोमा उनी तेस्रो भएका छन् । यहाँ एमालेका ऐन महर विजयी भएका छन् ।
डोटीमा नेकपा एकीकृत समाजवादीबाटबाट प्रेमबहादुर आले विजयी भएका थिए । यस क्षेत्रमा यस पटकको निर्वाचनमा नेकपाले पूर्व मुख्यमन्त्री समेत रहेका त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको थियो । यहाँबाट नेपाली कांग्रेसका भरतबहादुर खड्का विजयी हुँदा भट्ट चौथोमा सीमित बने । यस क्षेत्रबाट यसअघि चुनाव लडेका प्रेम आले यस पटक कैलाली ५ बाट चुनाव लडेका थिए । उनी पनि तेस्रो भए ।

अछाम १ मा नेकपा एकीकृत समाजवादी शेरबहादुर कुँवर विजयी भएका थिए । यस पटक नेकपाले यस क्षेत्रमा डा. भीम रावललाई उम्मेदवार बनाएको थियो । यहाँबाट नेपाली कांग्रेसका भरत कुमार स्वार विजयी हुँदा रावल दोस्रोमा सीमित भए ।
कैलाली १, २ र ३ मा नाउपा विजयी भएको थियो । यी तीन वटै यस पटक क्षेत्रमा रास्वपा विजयी भएको छ । अघिल्लो निर्वाचनमा कैलाली १ बाट नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ नै विजयी भएकी थिइन । यस पटक नेकपाले राम लाल डगौरा थारुलाई उम्मेदवार बनाएको थियो । उनी तेस्रो हुँदा रास्वपाकी कोमल ज्ञवाली विजयी भएकी छिन ।
कैलाली २ मा नाउपाका अरुण कुमार चौधरी विजयी भएका थिए । यस पटक नेकपाले नन्द बहादुर साउँदलाई उम्मेदवार बनाएको थियो । यस क्षेत्रबाट रास्वपाका केपी खनाल विजयी हुँदा साउँद पाँचौँ भए ।
कैलाली ३ मा नाउपाका गंगाराम चौधरी विजयी भएका थिए । यस पटक नेकपाले विरमान चौधरिलाई उम्मेदवार बनाएको थियो । यहाँबाट रास्वपाका जगत प्रसाद जोशी निर्वाचित हुँदा चौधरी दोस्रोमा सीमित भए ।
यद्यपि नाउपा नेकपामा समाहित भएको भनिए पनि त्यसका संरक्षक रहेका रेसम चौधरी सहितको ठुलो शक्तिले भने नाउपा नेपाल छुटै पार्टी गठन गरेर चुनाव लडेको थियो ।
नेकपाले यसअघि जितेका क्षेत्र गुमाए पनि थप क्षेत्रमा जित्न नसक्दा यस पटक सुदूरपश्चिममा निल भएको छ ।


















