अत्तरिया – सुदूरपश्चिमका १६ सिट मध्ये १० सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी हुँदा त्यसको सबैभन्दा बढी क्षति नेपाली कांग्रेसलाई पुगेको छ ।

२०७९ को निर्वाचनमा कांग्रेसले दार्चुला, बाजुरा, अछाम २, डडेल्धुरा, कञ्चनपुर २, कञ्चनपुर २, कैलाली ४ र कैलाली ५ मा चुनाव जितेको थियो । २०८२ मा आउँदा कांग्रेसले २०७९ मा जितेको बाजुरा बाहेक सबै ठाउँमा कांग्रेस पराजित भएको छ भने नयाँ क्षेत्र अछाम १, डोटीमा कांग्रेसले जित निकालेको छ । यसरी कांग्रेसले पुरानो जितेका ७ क्षेत्र गुमाउँदा पुरानो एक सहित २ नयाँ क्षेत्रमा जित्दै तीन सिटमा सीमित भएको छ ।
अघिल्लो निर्वाचनमा जितेर यस पटक कांग्रेसले गुमाएका ७ मध्ये २ क्षेत्र एमालेले खोसेको छ भने ५ क्षेत्र रास्वपाले खोसेको छ । एमालेले यसअघि कांग्रेसले जितेका दार्चुला र अछाम २ मा जिते निकालेको हो भने रास्वपाले कांगेसले यसअघि जितेका डडेल्धुरा, कञ्चनपुर २, कञ्चनपुर ३, कैलाली ४ र कैलाली ५ मा जित निकालेको छ ।

दार्चुलामा एमालेका गणेश सिंह ठगुन्ना अघिल्लो हारको बदला लिँदै विजयी भएका छन् । उनी अघिल्लो निर्वाचनमा कांग्रेसका दिलेन्द्र प्रसाद बडू सँग पराजित भएका थिए । अहिले ठगुन्नाले कांगेसका धर्मानन्द जोशीलाई हराउँदै जित हात पारेका छन् ।
अछाम २ मा पनि अघिल्लो निर्वाचनमा कांग्रेसका पुष्पबहादुर शाह सँग पराजित भएका एमालेका यज्ञबहादुर बोगटीले यस पटक बदला लिँदै जित हात परेका छन् । अघिल्लो निर्वाचनमा कांग्रेस पुष्पबहादुर शाह २२ मत ९५४ मत ल्याएर विजयी हुँदा एमाले यज्ञबहादुर बोगटी १६ हजार ११४ मत ल्याएर पराजित भएका थिए । यस पटक भने शाहको भन्दा ४७२ मत बढी ल्याएर बोगटी निर्वाचित भएका छन् ।
कांग्रेसले गुमाएका डडेल्धुरा, कञ्चनपुर २, कञ्चनपुर ३, कैलाली ४ र कैलाली ५ मा यस पटक रास्वपा विजयी हुँदा डडेल्धुरा बाहेकका क्षेत्रमा कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले रहेको थियो । डडेल्धुरामा भने स्वतन्त्र उम्मेदवार सागर ढकाल मुख्य प्रतिस्पर्धी थिए ।

















