खाेज्नुहाेस

खोटाङका गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

Image

गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक भएको छ । ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक भएको हो । उक्त गीतले एकतर्फी प्रेमको पीडा र आत्मीय शुभेच्छा प्रस्तुत गरेको छ । ओमप्रकाश राईको संगीत र पेमा शेर्पा राईको स्वरले गीतलाई मर्मस्पर्शी बनाएको छ । गीतको एरेञ्ज सन्तोष प्रगाढ राई, मिक्सिङ–मास्टरिङ गोविन्द सोनी र सम्पादन वीरेन्द्र भाट ‘विपिन’ ले गरेका छन ।

navjiwan hospital

उनका केही गीत यसअघि नै रेकर्ड भइसकेका छन् । २०७५ मा उनको गित ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ सार्वजनिक भएको थियो । जसलाई शिला खनालले गाएकी थिइन् । २०७९ मा मनमा बी राईको स्वरमा ‘सञ्चो छौ कि विसञ्चो’ सार्वजनिक भएको थियो भने २०८१ मा सोही गीत नवराज पराजुलीको स्वरमा पुनः प्रस्तुत गरिएकोे थियो ।

attariya hospital

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा राई हाल काठमाडौंमा रहेर साहित्य र पत्रकारितामा सक्रिय छन् । उनले दस वर्षे शिक्षण अनुभव समेत बटुलेका छन् । उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथासंग्रह प्रकाशित छन् । राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव हुन् । लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्षसमेत रहेका उनी ‘लघुकथा सौन्दर्य’ मार्फत लघुकथाको उन्नयनमा सक्रिय छन् । ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) सामूहिक लघुकथासंग्रहमा उनका केही लघुकथा सङ्गृहीत छन् । राईको संयोजन तथा विमल भौकाजीको सम्पादनमा सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै प्रकाशित भएको छ । उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ पत्रिकामा समेत सम्पादन अनुभव बटुलिसकेका छन् ।

नेपाली भाषा र साहित्यमा पु-याएको योगदानका कदरस्वरूप राईले इडन ब्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्मान (२०८०) र गोधूलि साहित्य सम्मान (२०८२) प्राप्त गरेका छन् ।