खाेज्नुहाेस

दुई जनाले ज्यान गुमाएको नाटेश्वरीमा सुरक्षा व्यवस्था कडा

Image

धनगढी– २०७९ को मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा दुई युवाले ज्यान गुमाएको बाजुराको नाटेश्वरी केन्द्रमा यस वर्ष सुरक्षा व्यवस्था कडा पारिएको छ । कांग्रेस–एमालेको विवादले उग्ररुप लिएपछि स्थानीय चेतन अयडी र संजिव अयडीको ज्यान गएको त्रिवेणी नगरपालिका ७ खिरपाटास्थित नाटेश्वरी माबि मतदान केन्द्रमा अघिल्लोपटक जस्तै झडपको स्थिति आउन नदिन यसपटक भने सुरक्षा मजबुत बनाइएको हो ।

यो निर्वाचन क्षेत्रमा कांग्रेस–एमालेबीच विवाद हुँदा प्रहरीको राइफलसमेत खोसिएको थियो । त्यसक्रममा प्रहरीले गोली चलाउँदा सन्दिपको ज्यान गएको थियो । निर्वाचन हुनुअघि कांग्रेसको कार्यकर्ताको कुटपिटबाट चेतनको मृत्यु भएपछि मतदानस्थलमा झडपको स्थिति बनेको थियो ।

attariya hospital
navjiwan hospital

गत निर्वाचनको यो घटनालाई ध्यानमा राखि यसपटक शान्तीपुर्ण बनाउने प्रयास थालिएको छ । सर्वपक्षीय सर्वदलीय बैठक राखी अराजक गतिबिधि नगर्ने, एक अर्कामा आरोप प्रत्यारोप नलगाउने, स्वतन्त्रपूर्वक मतदानमा भाग लिने वातावरण बनाउने सहमति गरिएको छ ।

नाटेश्वरी माबि (ख) मतदान केन्द्रका मतदान अधिकृत पराम पाण्डेकाअनुसार सबै पक्षले यस पटकको निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिबद्दता ब्यक्त भएको छ । सुरक्षका हिसाबमा पनि पूर्ण सुरक्षाको प्रत्याभुती हुने गरि वातावरण बनाइएको पाण्डेले बताए ।

स्थानीय अगुवा एवं युवा नेता रनसिंह अयडीले २०७९ को निर्वाचनमा दुःखद घटना भएकाले यसपटक नदोहोरिने गरी सबैपक्ष संवेदनशिल भएको बताए । उनले भने ‘त्यतिबेला जे जति कारणले दुःखद घटना भयो, यसपटक हामी सबै मिलेर शान्तिपुर्ण बनाउछौँ ।’

साथै उनले दलहरुबीच कुनै तिक्तता नरहेको पनि दाबी गरे । यस्तै स्थानीय अगुवा राम अयडीले पनि यसपटक शान्तिपुर्ण वातावरणमा मतदान सम्पन्न गराउनेमा सबै एकजुट भएर लागिरहेको बताए । यस मतदान स्थलमा क र ख गरी ११ सय ५८ मतदाता रहेका छन् ।