खाेज्नुहाेस

बाजुरामा यसपटक मतदानका क्रममा ड्रोन र सीसीटीभीबाट निगरानी हुने

Image

धनगढी– सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा यस पटक निर्वाचनका क्रममा उच्च सुरक्षा निगरानी गरिने भएको छ । निर्वाचनका बेला झडप, बुथ कब्जा र हिंसात्मक घटनाहरू हुँदै आएको यो जिल्लामा यस पटक भने विशेष सावधानी अपाउन लागिएको छ ।
स्थानीय प्रशासनले यस पटक बाजुरालाई उच्च सुरक्षा सतर्कतामा राखेको छ ।

navjiwan hospital

विगतका कमजोरीहरूबाट पाठ सिक्दै सुरक्षा निकायले जनशक्ति बढाउनुका साथै आधुनिक प्रविधि प्रयोग गरेर मतदानस्थलको निगरानी गर्ने रणनीति तयार पारेको छ । बाजुरामा २०४८ साल यताका अधिकांश निर्वाचनमा कुनै न कुनै रूपमा अशान्ति हुँदै आएको छ । विशेषगरी दलहरूको पकड क्षेत्रका आधारमा मतदान केन्द्रहरू नै कब्जा हुने, विपक्षी दलका मतदातालाई बुथसम्म जान नदिने र कर्मचारीहरूकै अगाडि फर्जी मत खसाल्ने प्रवृत्ति यहाँको मुख्य सुरक्षा चुनौती हो ।

attariya hospital

निर्वाचनमा खटिएका कर्मचारीहरूका अनुसार विगतमा आँखा अगाडि धाँधली हुँदा पनि सुरक्षाकर्मी र कर्मचारी निरीह बन्नुपर्ने बाध्यता थियो । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा बाजुरामा दुई जना युवाको मृत्यु भएको थियो । बाजुराको छिमेकी जिल्ला बझाङमा पनि फर्जी मत खसाल्ने प्रवृत्ति देखिने गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार यसपटक पहाडी जिल्लाहरूमा हुने अराजकता रोक्न विशेष सुरक्षा योजना लागु गरिएको छ ।

प्रदेश प्रहरी प्रमुख एवं डीआईजी ओमबहादुर रानाले बाजुरालाई उच्च सुरक्षा प्राथमिकतामा राखिएको बताए । ड्रोन र सीसीटीभीको फुटेजका आधारमा कुनै पनि शंकास्पद गतिविधि देखिनासाथ तत्काल नियन्त्रणमा लिन सकिने गरी सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । आवश्यक परेको खण्डमा तत्काल थप मद्दत पु¥याउन हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।