खाेज्नुहाेस

स्वतन्त्र उम्मेदवार भट्टको प्रतिबद्धता ‘नो सेटलमेन्ट वन्ली डेभलपमेन्ट’

Image

अत्तरिया– आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं. ४ मा स्वतन्त्र उम्मेदवारी दिएका छत्र बहादुर भट्टले आफ्नो फोकस डेभलपमेन्ट (विकास) मा मात्रै केन्द्रित हुने बताएका छन् । शुक्रवार चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै उनले आफूले सेटलमेन्ट (सम्झौता) मा भन्दा पनि विकासमा बढी ध्यान दिने बताएका हुन । उनले ‘सम्झौता होइन, केवल विकास’ भन्ने मूल नारासहित चुनावमा होमिएको बताए ।

‘मेरो फोकस डेभलपमेन्ट, डेभलपमेन्ट वन्ली डेभलपमेन्ट हो’ प्रतिबद्धता पत्र सार्वजनिक गर्ने क्रममा उनले भने ‘नो सेटलमेन्ट वन्ली डेभलपमेन्ट भन्ने मेरो मुख्य बाचा नै हुनेछ ।’ उनले देशमा जहिले पनि सेटलमेन्ट मात्रै हुने गरेको बताउँदै आफूले त्यो विषयलाई चिर्न पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताए । ‘नेपालमा जहिले पनि सेटलमेन्ट हुन्छ, कहिले पार्टी पार्टीको सेटलमेन्ट, कहिले कसको सेटलमेन्ट’ उनले भने ‘अब त्यसो होइन, हाम्रो योजना, हाम्रा नीति, हाम्रा आर्थिक रोडम्यापलाई अघि बढाउने समय आएको छ, त्यसको आधारमा विकासलाई मूल प्रवाहमा ल्याउनका लागि मेरो उम्मेदवारी हो ।’

attariya hospital

उनले सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरूको विकासका लागि पनि आफूले विभिन्न योजनाहरू बनाएको बताए । उनले सुदूरपश्चिमका अलौकिक सुन्दरताहरूको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्न आवश्यक रहेको समेत औँल्याए । उनले यहाँको धार्मिक एवम् पर्यटकीय क्षेत्रहरूको विकास र प्रचारप्रसार गर्न सके सुदूरपश्चिमको आर्थिक स्थिति सुधार गर्न धेरै समय नलाग्ने समेत बताए ।

निर्वाचनमा चुनाव चिन्ह ‘आँपको दाना’ लिएर मैदानमा उत्रिएका भट्टले आफू कुनै दलको हैन, जनताको पक्षमा उभिने स्वतन्त्र आवाज भएको दाबी गरे । कैलाली जिल्ला अन्तर्गत पर्ने क्षेत्र नम्बर ४ लाई सुदूरपश्चिमकै विकासको प्रवेशद्वारका रूपमा व्याख्या गर्दै भट्टले स्वास्थ्य, उद्योग/रोजगारी, शिक्षा÷खेलकुद, पर्यटन, पूर्वाधार र कृषि गरी ६ प्रमुख क्षेत्रमा केन्द्रित योजनाहरू सार्वजनिक गरेका हुन् । ‘मैले गर्न सक्ने र व्यवहारिक रूपमा कार्यान्वयन गर्न सकिने विषय मात्र समेटेको छु,’ उनले भने ।

भट्टले आफ्नो घोषणापत्रको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई दिएका छन् । उनले कैलाली–४ मा क्यान्सर अस्पताल स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । सुदूरपश्चिम प्रदेशमा क्यान्सर उपचारका लागि बिरामीहरूलाई बाहिर जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले क्षेत्रमै विशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्य राखेका छन् । यसका साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने उनले बताए । प्रत्येक वडामा कम्तीमा महिनामा एक पटक विशेषज्ञ चिकित्सकसहित घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरिने योजना पनि प्रतिबद्धता पत्रमा अघि सारिएको छ ।

navjiwan hospital

तराई क्षेत्र भएकाले सर्प दंशको जोखिम उच्च रहेको भन्दै उनले सर्प दंश उपचार केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । ‘स्वास्थ्य पहुँच सबैका लागि समान हुनुपर्छ,’ उनले भने । कैलाली–४ भित्र रहेको बेरोजगारी समस्यालाई मुख्य चुनौतीका रूपमा लिँदै भट्टले एक हजार करोड रुपैयाँ बराबरको विदेशी लगानी भित्र्याउने लक्ष्य सार्वजनिक गरेका छन् । कृषि, जडीबुटी, ऊर्जा तथा वनमा आधारित उद्योग स्थापना गरिने उनको योजना छ ।

अत्तरिया क्षेत्रमा पाँचतारे होटल स्थापनाका लागि लगानी सुनिश्चित गरिने उनले बताए । यसले पर्यटन प्रवर्द्धन र रोजगारी सृजनामा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । सुदूरपश्चिममा निर्यातमूलक उद्योग स्थापना गर्न अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्ने पहल गरिनेछ । साथै ‘एक घर, एक रोजगारी’ अभियान अन्तर्गत रोजगार सेवा केन्द्र स्थापना गरिने प्रतिबद्धता जनाइएको छ ।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरूको स्तरोन्नति गर्दै सुविधा सम्पन्न बनाउने योजना प्रतिबद्धता पत्रमा अघि सारिएको छ । प्रत्येक विद्यालयमा उच्च क्षमताको इन्टरनेटसहित कम्प्युटर ल्याब सञ्चालनका लागि पहल गरिने बताइएको छ । बहु प्राविधिक सिप तालिम केन्द्र स्थापना गरी युवालाई दक्ष जनशक्तिका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । साथै खेलकुद पूर्वाधार विकासअन्तर्गत खेलमैदान र मल्टीपर्पज हल निर्माण गरिने प्रतिबद्धता पनि जनाइएको छ ।

भट्टले कैलाली–४ मा अन्तर्राष्ट्रिय स्तरको आविष्कार तथा नवप्रवर्द्धन केन्द्र स्थापना गर्ने, विशेष गरी कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना गर्ने महत्त्वाकाङ्क्षी योजना समेत सार्वजनिक गरेका छन् । पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको महत्त्वपूर्ण आधारका रूपमा चित्रण गर्दै भट्टले कैलाली–४ भित्र रहेका प्राकृतिक र धार्मिक सम्पदाको पहिचान गरी एकीकृत विकास गरिने बताएका छन् ।

अत्तरिया क्षेत्रमा ई–प्ल्याटफर्म सहितको पर्यटन सूचना केन्द्र स्थापना गरिनुका साथै ‘भिजिट सुदूरपश्चिम’ अभियान सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरिने योजना पनि उनले प्रतिबद्धता पत्रमा राखेका छन् । गोदावरी धामलाई प्रमुख धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उनको योजना रहेको छ । गोदावरी धामलाई हरिद्वारसरह मान्यता दिलाउँदै प्रचार–प्रसार गरिने उनले बताए । गोदावरीमा लाग्ने महाकुम्भ मेलामा ५ करोड भारतीय दर्शनार्थी भित्र्याउने महत्त्वाकाङ्क्षी लक्ष्य समेत उनले सार्वजनिक गरेका छन् । भारतको नासिकस्थित त्रिमबाकेश्वर मन्दिरमा २०२७ मा लाग्ने गोदावरी महाकुम्भ मेलामा एक लाख दर्शनार्थीलाई निःशुल्क लैजाने–ल्याउने व्यवस्था गरिने उनले बताए ।

यसै गरी, चुरे पहाडी क्षेत्रमा ट्रेकिङ प्रवर्द्धन, राणाकालीन गर्भा दरबारलाई पुरातात्त्विक सम्पदाका रूपमा विकास, गोदावरी धाममा निर्माणाधीन राम–जानकी मन्दिरलाई पूर्णता दिने तथा अत्तरिया चोकदेखि गोदावरी धामसम्म विशेष प्रकाश व्यवस्थाको योजना पनि अघि सारिएको छ । पूर्वाधार विकासलाई समग्र विकासको मेरुदण्ड मान्दै भट्टले मुख्य नदीहरू खुटिया, शिवगंगा र गोदावरीमा वृत्त तटबन्धनका लागि संघीय सरकारसँग विशेष पहल गर्ने बताए । सडक पूर्वाधारलाई प्राथमिकतामा राखिने, खानेपानी र विद्युत् पहुँच विस्तार गरिने, बजार क्षेत्रलाई हरित बजार र उज्यालो सहरका रूपमा विकास गरिने योजनाहरू घोषणापत्रमा समेटिएका छन् । सुदूरपश्चिमलाई जोड्ने प्रमुख केन्द्र अत्तरिया बसपार्कलाई सुविधा सम्पन्न र व्यवस्थित बनाउने योजना छ । अत्तरिया–गेटा आकासे सडक तथा मोहनापुल–अत्तरिया ६ लेन सडक खण्डअन्तर्गत गोदावरी क्षेत्रमा पैदल मार्गमा आकासे पुल निर्माण गरिने प्रतिबद्धता पनि जनाइएको छ ।

कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको आधार मान्दै ‘एक वडा, एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिने भट्टले बताए । चुरे क्षेत्रमा उत्पादन हुने अर्ग्यानिक सुन्तला तथा अन्य कृषि उपजका लागि शीत भण्डार स्थापना गरिने उनको योजना छ । अर्ग्यानिक अदुवा र कागती खेतीलाई विश्व बजारमा निर्यात गर्ने लक्ष्य राखिएको उनले बताएका छन् । एग्रो टुरिजम अन्तर्गत होमस्टे र स्थानीय उत्पादनलाई प्राथमिकता दिइने उनको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

‘एक वडा, एक कृषि एम्बुलेन्स’ कार्यक्रममार्फत कृषकलाई सहज सेवा उपलब्ध गराइने, अत्तरिया कृषि हाट बजारलाई आधुनिक हाट बजारका रूपमा विकास गरिने र फूल खेती प्रवर्द्धनका लागि बिक्री कक्ष स्थापना गरिने योजना पनि उनले सार्वजनिक गरेका छन् । भट्टले आफू कुनै दलगत स्वार्थमा नभई जनताको प्रत्यक्ष हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘दलको होइन, जनताको पक्षमा उभिने स्वतन्त्र आवाज आवश्यक छ,’ उनले भने । उनले आफ्नो प्रतिबद्धता पत्र व्यवहारिक, मापनयोग्य र कार्यान्वयनयोग्य भएको दाबी गरे ।