खाेज्नुहाेस

प्रतिस्पर्धी उम्मेदवार एउटै टेबलमा

Image

डडेलधुरा – प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त छन् । कतिपय स्थानमा उम्मेदवारहरूले एक–अर्काको आलोचना समेत गर्दै आएका छन् । डडेलधुरामा शनिबार बिहान फरक परिदृश्य देखियो । अमरगढी नगरपालिकाको तुफानडाँडामा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चिया–खाजाका लागि एउटै टेबलमा बसेका थिए ।

navjiwan hospital

डडेलधुरामा नेपाली कांग्रेसबाट नैन सिंह महर र नेपाली कम्युनिस्ट पार्टीबाट मान सिंह माल उम्मेदवार छन् । महर र माल आ–आफ्नो चुनाव प्रचार अभियानमा जानु अघि चिया–खाजाका लागि स्थानीय एक होटलमा एउटै टेबलमा बसेका हुन् ।
आफ्ना केही कार्यकर्ताका साथ खाजा खाइरहेका महर शनिबारका लागि प्रचारप्रसार कार्यक्रमबारे चर्चा गर्दै थिए । सोही क्रममा नेकपाका उम्मेदवार माल उक्त होटलभित्र प्रवेश गरे । महरले आफूसँगै बसेका कार्यकर्तालाई अर्को टेबलमा पठाएर नेकपाका उम्मेदवार माललाई आफूसँगै राखे ।

attariya hospital

दुवै उम्मेदवारबिच सौहाद्र्रपूर्ण वातावरणमा चुनावप्रसारका विषयमा संक्षिप्त कुराकानी भयो । दुवैले आ–आफ्ना कार्यक्रमबारे एक–अर्कालाई सुनाए । त्यसपछि दुवै आ–आफ्ना कार्यक्रम अनुसार गन्तव्यतर्फ लागे । ‘हामीबिच राम्रो सम्बन्ध छ । हामी मैत्रीपूर्ण प्रतिस्पर्धामा छौँ,’ नेकपाका उम्मेदवार मालले भने, ‘जनतामा आफ्ना एजेन्डा लाने हो । जनताले जसलाई विश्वास गर्नुहुन्छ, उसले मत पाउने हो ।’

कांग्रेसका उम्मेदवार महर पनि आ–आफ्ना एजेन्डा र कार्यक्रम लिएर जनतामा जाने, सोही आधारमा जनताले मूल्याङ्कन गर्ने बताउँछन् । उनले भने, ‘हामीले एक अर्कालाई गाली गर्नुपर्ने कारण नै छैन ।’