काठमाडौँ – दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि ५० रनभन्दा माथिको स्कोर बनाएपछि नेपालले १ सय ७१ रनको लक्ष्य मुम्बईको वानखडे रंगशालामा ४ बल अगाडि नै पूरा गर्यो ।

नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो खेल जितेको हो । तेस्रो विश्वकप खेल्दै गरेको नेपालको विश्वकपमा कुल तेस्रो जित पनि हो ।

२०१४ मा बंगलादेशको चित्तागोङमा अफगानिस्तानलाई पराजित गरेयता नेपालले विश्वकपमा एउटै खेल जित्न सकेको थिएन । सोक्रममा ६ खेलमा हार बेहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।
यसै विश्वकपमा पनि नेपाललाई इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजले पराजित गरेको थियो । यी तीन खेल हारेर नेपाल यसअघि नै दोस्रो चरणको दौडबाट बाहिरिसकेको थियो ।

















