खाेज्नुहाेस

बझाङमा ‘घरमा सुत्केरी नहुने’ वडा घोषणा

Image

बझाङ – बझाङको जयपृथ्वी नगरपालिका – ९ लाई ‘घरमा सुत्केरी नहुने’ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । संघीयता कार्यान्वयन पश्चात् सुदूरपश्चिम प्रदेशका ८८ पालिका मध्ये यस्तो घोषणा गर्ने यो पहिलो वडा बनेको छ । जयपृथ्वी नगरपालिकाले विगत चार वर्षदेखि अघि सारेको नीति तथा लक्ष्य अनुरूप समुदाय स्तरमा सञ्चालित विभिन्न जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य सेवाको सुदृढीकरणले यो सफलता सम्भव भएको हो ।

navjiwan hospital

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले यस वडालाई निरन्तर घरमा सुत्केरी नहुने सुनिश्चितता गर्दै दिगोपना तर्फ लैजानुपर्नेमा जोड दिए । उनले गर्भावस्था, सुत्केरी र सुत्केरीपछिको अवधिमा आमा र नवजात शिशुको स्वास्थ्यलाई जोखिमबाट जोगाई मृत्युदर र रोगदर घटाउनु नै नगरपालिकाको मुख्य सोच रहेको बताए । यो अवधारणाले प्रत्येक महिलाले सुरक्षित, गुणस्तरीय र सम्मानजनक मातृत्व सेवा पाउने अधिकारलाई आत्मसात् गरेको उनको भनाइ थियो ।

attariya hospital

यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नैन बहादुर सिंहले पालिकाको नीति तथा कार्यक्रम मार्फत योजनाबद्ध रूपमा काम गर्दा यो लक्ष्य सफल भएको बताए । आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम मार्फत कार्यपालिकाबाट स्वीकृत भई रिठापाटा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएपछि समुदाय स्तरमा स्वास्थ्य सेवा प्रवाह गर्न थप सहज भएको उनले उल्लेख गरे । कार्यक्रममा सुरक्षित मातृत्व अभियानमा महत्वपूर्ण सहयोग पु¥याउने जिल्ला अस्पताल बझाङ, स्वास्थ्य कार्यालय, विभिन्न गैरसरकारी संस्था र रिठापाटा स्वास्थ्य केन्द्रलाई प्रशंसा पत्र समेत वितरण गरिएको थियो ।