बैतडी– बैतडीमा नसर्ने रोगको परीक्षण थालिएको छ । जोखिम उच्च भएपछि जिल्लामा टोल टोलमै पुगेर नसर्ने रोगको परीक्षण थालिएको हो ।
नसर्ने रोगको परिचानका लागि एक महिने अभियान अन्तरगत टोलटोलमै स्वास्थ्यकर्मी खटाईएको सुनर्या गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिँह महराले गाउँपालिकाका सबै टोलमा स्वास्थ्यकर्मी खटाएर रोग पहिचान गर्ने काम गरिदै आएको बताए ।


उनले पालिकामा रहेका ८ वटा वडाका ६६ वटा टोलहरुमा रोग पहिचानका लागि स्वास्थ्यकर्मी खटिएको बताए । उनले स्वास्थ्यपरिक्षणका क्रममा आवश्यकता अनुसार औषधीहरु समेत वितरण गरिरहेको बताए ।
नसर्ने रोगको पहिचानका लागि एकमहिने अभियान अन्तरगत स्वास्थ्य संस्थामा ३० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्य भइरहेको उनको भनाई छ । उनका अनुसार सो अभियानमा उच्च रक्तचाप, मधुमेह, उचाइ र तौलको अनुपात परीक्षण गर्ने गरिएको छ ।
अभियानको सिलसिलामा नसर्ने रोग पत्ता लागेका बिरामीलाई थप उपचारको आवश्यकता परेमा अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा रेफर गर्ने गरिएको स्वास्थ्य प्रमुख महराले बताए ।
यस्तै जिल्लाको सिगास गाउँपालिकाले पनि विरामी खोज्न टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गरेको जनाएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले नसर्ने रोगको जोखिमका विषयमा नागरिकलाई जानकारी दिने कार्य पनि भैरहेको बताए ।


















