अत्तरिया– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा कैलालीका स्थानिय पालिकाहरुमा गोदावरी पहिलो बनेको छ । बिहिबार आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मुल्यांकनमा गोदावरी नगरपालिका पहिलो बनेको हो ।
१३ स्थानिय तह रहेको जिल्लामा गोदावरीले ६३.३३ अंक प्र्राप्त गरेको छ । आयोगले कुल १७ सुचकका आधारमा मुल्यांकन गरेको थियो । सो सूचकहरुका आधारमा आयोगले स्थानियतहहरुलाई अंक दिएको छ । जसमा सबै १७ वटा सूचकहरुको अंक मिलाएर गोदावरीले ६३.३३ अंक प्राप्त गरी पहिलो बनेको हो । आयोगको मुल्यांकनका आधारमा कैलालीमा गोदावरी पहिलो बन्दा कैलारी गाउँपालिका भने पुछारमा छ । कैलारी गाउँपालिकाले कुल ४४.१९ अंक प्राप्त गरेको छ । जिल्लामा गोदावरी पछि जानकी गाउँपालिकाले बढी अंक प्राप्त गरेको छ । उसको ६२.११ अंक रहेको छ । तेस्रो बन्न सफल भएको लम्की चुहा नगरपालिकाले ५६.८७ अंक प्राप्त गरेको छ भने त्यसपछि धनगढी उपमहानगरपालिकाले ५६.६० अंक प्राप्त गरेको छ । गौरीगंगा नगरपालिकाले ५६.२६ अंक प्राप्त गर्दा मोहन्याल गाउँपालिकाले ५४.५५ अंक प्राप्त गरेको छ ।


त्यसैगरी बर्दगोरिया गाउँपालिकाले ५२.७२ अंक प्राप्त गरेको छ भने चुरे गाउँपालिकाले ५१.९४ अंक प्राप्त गरेको छ । त्यस्तै घोडाघोडी नगरपालिकाले ५१.७३, भजनी नगरपालिकाले ५०.१४, जोशीपुर गाउँपालिकाले ४९.५० र टीकापुर नगरपालिकाले ४६.७० अंक प्राप्त गरेका छन ।
आयोगले १७ सुचकका आधारमा देशभरका स्थानियपालिकाहरुको कार्यसम्पादन मुल्यांकन गरेको थियो । जसमा २०८२ असार १० गतेभित्र आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँ/नगर सभामा पेश गरे/नगरेको, सो आर्थिक वर्षको राजश्व र व्ययको अनुमान सभाबाट पारित गरे/नगरेको, आर्थिक वर्ष २०८१/०८२ मा घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करवाफत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको, आ.व. २०८३/०८४ को आयव्यय प्रक्षेपण गरिएको तथ्यांक सहितको विवरण २०८२ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको र आ.व. २०८१/०८२ को बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी तत्सम्बन्धि विवरण २०८२ कार्तिक मसान्त भित्र सार्वजनिक गरे/नगरेको रहेका छन ।
त्यसबाहेक आयोगले आफ्नो अधिकार क्षेत्रभित्रको राजश्व परिचालन गरेको अवस्था, गत आर्थिक वर्षको विनियोजित रकम अनुसारको खर्चको अवस्था, आ.व. २०८०/०८१ को कुल लेखापरिक्षणबाट औल्याईएको बेरुजुको अवस्था, स्थानिय सञ्चित कोष व्यवस्थापन प्रणाली को प्रयोग गरे÷नगरेको, आवधिक योजना तर्जुमा गरे/नगरेकोलाई पनि सूचकका रुपमा राखेको छ ।
आयोगले शैक्षिक क्षेत्रबाट ३ वटा सूचकहरु मुल्यांकनमा समावेश गरेको छ । जसमा शैक्षिक सत्र २०८२ मा कक्षा १ देखी ८ सम्म ५ देखी १२ वर्ष उमेर समुहका विद्यार्थी खुद भर्ना दर, शैक्षिक सत्र २०८१ मा कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर र शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परिक्षामा सहभागि कूल विद्यार्थी संख्याको तुलनामा कम्तिमा स्तरिकृत अंक (जिपिए १.६) वा सो भन्दा उच्च जिपिए प्राप्त गरेका विद्यार्थीको प्रतिशत रहेका छन ।
आयोगले स्वास्थ्य क्षेत्रबाट आर्थिक वर्ष २०८१/०८२ मा चार पटक गर्भ जाँच गर्ने महिलाको अनुपात, आर्थिक वर्ष २०८१/८२ मा संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, आर्थिक वर्ष २०८१/८२ मा पुर्ण खोप पाएका बालबालिकाको अनुपात गरी ३ वटा सूचक समेटेको छ । आयोगले १७ नम्बरको सूचकमा भने आयोगले तयार गरेको विद्युतिय अनलाइन पोर्टल मा कार्य सम्पादन सूचक सम्बन्धि विवरण तोकिएको अवधीमा प्रविष्टि गरे/नगरेको बुँदा समावेश गरेको छ ।


















