खाेज्नुहाेस

टी-२० विश्वकप : इटालीविरुद्ध नेपालको लज्जास्पद हार

Image

काठमाडौं – आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को खेलमा नेपालले इटालीसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको छ। मुम्बईस्थित वानखेडे रङ्गशालामा बिहीबार भएको खेलमा नेपालले प्रस्तुत गरेको १२४ रनको लक्ष्य इटालीले १२.४ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो।

इटालीको जितमा ओपनर एन्थोनी मोस्काले अविजित ६२ रन र जस्टिन मोस्काले अविजित ६० रनको योगदान दिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सकेको थियो। नेपालका लागि कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न नसक्दा टोली सामान्य योगफलमा समेटिएको थियो।

attariya hospital
navjiwan hospital

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रनको योगदान दिए। उनले २४ बल खेल्दै ३ चौका प्रहार गरे। यस्तै, कप्तान रोहित पौडेलले १४ बलमा २ चौकासहित २३ रन जोड्दा ओपनर आसिफ शेखले २० बलमा २० रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले १८ बलमा १७ रन जोडे भने करण केसी १८ रनमा अविजित रहे।

दोस्रो ओभरमा ओपनर कुशल भुर्तेल ५ रनमा आउट भए पनि रोहित र आसिफले पारि सम्हाल्दै पावरप्लेमा नेपालको स्कोर ४६ रन पुर्याएका थिए। तर, सातौं ओभरमा रोहित र आठौं ओभरमा आसिफ आउट भएपछि नेपाल दबाबमा परेको थियो।

तल्लो क्रमका ब्याटरहरू लोकेश बम ३ रन, गुल्सन झा ३ रन, सन्दीप लामिछाने ५ रन र ललित राजवंशी शून्यमै आउट भए। नन्दन यादव पनि रनआउट भए। इटालीका बलरहरूले कसिलो बलिङ गर्दै नेपाली ब्याटरलाई दबाबमा राखे।