अत्तरिया– कैलालीको अत्तरियामा रहेको नमस्ते होटलले अर्गानिक खानाका परिकार दिन सुरु गरेको छ । पहाडी भेगमा उब्जाईने बालीबाट होटलले पहाडी स्वादमा खानाका परिकार दिन सुरु गरेको हो ।

होटलका सञ्चालक लक्ष्मण धामीले बुधबार देखी होटलमा पहाडी क्षेत्रबाट ल्याईएको कोदो, फापर र मकैको शुद्ध अर्गानिक रोटी विक्रि गर्न सुरु गरेको बताए । उनले पछिल्लो समय लोप हुने अवस्थामा पुगेका खानाका परिकारहरु प्रदान गर्न सुरु गरेको बताए । ‘हाम्रा बाजे पुर्खाहरुको पालादेखी नै चलिआएको र स्वास्थ्यका लागि लाभदायक भएकाले होटलमा मैले कोदो, मकै र फापरका रोटीहरु दिन सुरु गरेको छु’ उनले भने ‘त्यसबाहेक मार्सी चामलको भात, जौँ को सातु, कलाउ र सोट्टाको दाल पनि उपलब्ध छ ।’

उनले उक्त खाना पहाडकै अर्गानिक मसला प्रयोग गरेर बनाउने गरेको बताए । उक्त खानाहरु आगोको चुल्होमा बनाउने गरिएको उनको भनाई छ । बजारमा पछिल्लो समय अनुगमन पनि नभएको अवस्थामा हाईजेनिक खाना भन्दा अर्गानिक खानाले स्वास्थ्य राम्रो हुने धामीले बताए । उनले बझाङको छविसपाथिभेरा गाउँपालिका र बुंगल नगरपालिकाका विभिन्न स्थानबाट अन्नबालीहरु ल्याउने गरेको समेत बताए । उनले बजारमा पाईने हाईजेनिक खाना बराबरकै मुल्यमा पहाडी क्षेत्रको अर्गानिक कोदो, फापर र मकैँका रोटी र मार्सी चामलको भात दिन सुरु गरेको उनको भनाई छ ।


















