बाजुरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचको लागि बाजुराका १० मतदान केन्द्रमा हेलिकोप्टर मार्फत मतपेटीका ढुवानी गरिने भएको छ । यातायातको पहुँच नभएका १० मतदान केन्द्रमा हेलिकोप्टर मार्फत ढुवानी गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा सुरक्षा निकायसहितको टोलीले अनुगमन गर्दा यहाँका १० मतदान केन्द्र अझै यातायात पहुँचबाहिर रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

हिमाली गाउँपालिकामा पाँच, स्वामीकार्तिक खापरमा दुई गौमुल,जगन्नाथ र त्रिवेणी गाउँपालिकामा एक÷एक गरी १० मतदान केन्द्र सडक सञ्जालबाट टाढा छन् । सडक सञ्जाल नजोडिएका यहाँका मतदान केन्द्रहरू सुरक्षाका दृष्टिले पनि संवेदनशील मानिएका छन् ।
जिल्लाका ७७ वटा मतदानस्थलमध्ये ६२ अतिसंवेदनशील, १२ संवेदनशील र ३ सामान्य गरी वर्गीकरण गरिएका छन् । बाजुरामा एक स्वतन्त्र सहित ७ दलका व्यक्ति चुनावी मैदानमा छन् ।
९ वटा स्थानीय तह रहेको बाजुरामा ८७ हजार बढि मतदाता कायम छन् । जिल्लामा हाल ७७ वटा मतदानस्थल र १ सय १८ वटा मतदान केन्द्र निर्धारण रहेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

















