कैलालीको गोदावरी नगरपालिका सुदूरपश्चिमकै केन्द्रमा अवस्थित छ । यो नगरपालिका धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको अनुपम सङ्गम पनि हो । यहाँ रहेका धार्मिक तथा पर्यटकीय स्थलहरू स्थानीय पहिचान, संस्कृति र आर्थिक सम्भावनाका बलिया आधार हुन् । तर प्रभावकारी प्रचार–प्रसार, संरक्षण र आपसी समन्वयको अभावले यी सम्पदा अपेक्षित रूपमा स्थापित हुन सकेका छैनन् ।
गोदावरी–४ मा रहेको गोदावरी धाम धार्मिक आस्थाको प्रमुख केन्द्रका रूपमा स्थापित भइसकेको छ । शिव मन्दिर, धार्मिक अनुष्ठान र प्राकृतिक वातावरणले यो धाम वर्षेनी हजारौँ भक्तजनको आकर्षण बनेको छ । त्यस्तै बन्दगडामा कौसी गङ्गाको किनारमा करिब ६५ बिघा क्षेत्रफलमा निर्माण भइरहेको मष्टाधाम धार्मिक तथा पर्यटकीय दुवै स्वरूपको सङ्गमका रूपमा विकास हुँदैछ । यहाँ १२ वटै मष्ट देवताका शिला स्थापना गरिनुका साथै पार्क, ध्यान केन्द्र, आश्रम, पिकनिक स्पोट र १०८ फिट अग्लो त्रिशूलसहितका संरचना निर्माणको योजना अघि बढिरहेको छ, जसले भविष्यमा गोदावरीलाई महत्वपूर्ण धार्मिक–पर्यटकीय केन्द्रका रूपमा चिनाउने अपेक्षा गरिएको छ ।


प्राकृतिक सौन्दर्यले भरिएको नायल ताल गोदावरीको अर्को आकर्षक पर्यटकीय स्थल हो । हरियाली वातावरण र शान्त परिवेशले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने सम्भावना बोकेको छ । त्यति मात्रै नभई आन्तरिक पर्यटकहरूको आवागमन भइरहने भल्का क्षेत्र होस वा प्राकृतिक र ऐतिहासिक सम्भावना बोकेको हाट खोली क्षेत्र, यी सबै पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन । यिनीहरूको व्यवस्थित रूपमा विकास गर्न सके गोदावरी नगर क्षेत्रमा आन्तरिक मात्रै नभई बाह्य पर्यटकहरूलाई पनि आकर्षित गर्न सकिन्छ ।
गोदावरी नगर क्षेत्र भित्र रहेका धार्मिक एवम् पर्यटकीय क्षेत्रहरूको उचित संरक्षण, संवद्र्धन, प्रचार प्रसार गर्ने तथा सहज रूपमा आवत जावत गर्ने वातावरण सृजना गर्न आवश्यक छ । गोदावरीका धार्मिक स्थलहरूलाई धनगढीको शिवपुरी धाम, बेहडा बाबा, मोहन्याल धाम र गोलादेउ मन्दिरसँग जोड्दै धार्मिक शक्तिपिठ सर्किट बनाउने पहलले पनि क्षेत्रीय पर्यटनलाई बल पु-याउन सक्छ । मष्टाधाम व्यवस्थापन समितिले मष्टाधाम निर्माण सँगै सो योजनालाई अघि बढाएको छ । यसका लागि स्थानीय सरकार, पर्यटन व्यवसायी, धार्मिक संस्था र समुदायबिच सहकार्य अपरिहार्य छ । स्थानिय सरकारले यहाँका धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने अवस्था छ ।
गोदावरीसँग धार्मिक आस्था र प्राकृतिक सम्पदाको अपार सम्भावना छ । योजनाबद्ध प्रचार–प्रसार, संरक्षण र एकीकृत विकासमार्फत यी सम्पदालाई उजागर गर्न सके गोदावरी सुदूरपश्चिमकै प्रमुख धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्छ । गोदावरीको पहिचानलाई व्यापक बनाउँदै दिगो पर्यटन विकासतर्फ अघि बढ्नु पनि अहिलेको आवश्यकता भएकाले त्यसतर्फ ध्यान दिईन जरुरी छ । यहाँका पर्यटकीय र धार्मिक क्षेत्रहरूलाई जोडर गोदावरीलाई पर्यटकीय हबका रूपमा विकास गर्न आवश्यक छ ।


















