अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–४ बन्दगडामा मष्टाधाम निर्माण गरिएको छ । २०७५ साल माघ २० गतेदेखी सुरु भएको मष्टाधामको धार्मिक क्षेत्रको निर्माण कार्य लगभग सकिईसकेको छ । धाममा केही दिन अघि शिला राखिएको थियो भने शुक्रबार धाममा प्राणप्रतिष्ठा एवम् रुद्रीपाठ पनि गरिएको छ ।
बन्दगडामा रहेको कौसी गंगाको छेउमा करिब ६५ बिघा जमिनमा निर्माण गरिएको मष्टाधामलाई धार्मिक र पर्यटकिय स्वरुपका रुपमा अघि बढाईएको छ । मष्ट देवताको लागि निर्माण गरिएको सो धामलाई विश्वकै पहिलो मष्ट देवताको धाम पनि भन्न थालिएको छ । मष्टाधामलाई धार्मिक क्षेत्रका रुपमा मात्रै नभई पर्यटकिय क्षेत्रका रुपमा पनि अघि बढाउनका लागि वृहत गुरुयोजना सहित निर्माण कार्य सुरु गरिएको थियो । जसअन्तरगत मष्ट देवताका विभिन्न धार्मिक संरचनाहरु निर्माण गरिनुका साथै पर्यटकिय स्वरुप दिनका लागि पार्कहरुको अवधारणा पनि अघि बढाईएको मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदले बताए । मष्टाधामको गुरुयोजना अनुसार सो क्षेत्रमा स्टोन एण्ड ग्रिन पार्क, सेल्फी पार्क, पिक्निक स्पोट निर्माण लगायत रहेका छन । त्यतिमात्रै नभई मष्टाधामकै क्षेत्रमा रहेको राजिताललाई पनि पर्यटकिय क्षेत्रका रुपमा अघि बढाउन गुरुयोजनामा समावेश गरिएको अध्यक्ष साउँदले बताए ।


धाम क्षेत्रलाई पाँच भागमा विभाजन गरेर मन्दिर लगायतका भौतिक संरचनाहरू निर्माण गरिएका छन । धाममा दुधे मष्टो र दाडे मष्टाका थानहरूसहित १२ वटै मष्टाका शीलाहरू राखिएको छ । अध्यक्ष साउँदले १२ वटै मष्टो देवताका शिलाहरु विभिन्न स्थानबाट ल्याएर राखिएको बताए । उनले आफूहरुले विश्वमा एक मात्र मष्टा देवताको धाम बनाएको दावि गरे । ‘बन्दगडामा विश्वको एक मात्र मष्टा धाम बनाएका छौ, पुजा गरिदै आएपनि विश्वमा मष्टाको धाम छैन’ उनले भने ‘धाममा रहेका १२ वटै मष्ट देवताका लागि पश्चिमको महाकालीदेखि पूर्वमा त्रिशूली नदीका शीलाहरु ल्याएर राखेका छौ ।’ उनले भारतको पञ्जावको जलानधरबाट समेत शीला ल्याएको बताए । उनका अनुसार धाममा दुधे मष्ट, दाडे मष्टका साथै साथै ढँडार मष्ट, खापर मष्ट, तेडी मष्ट, कालासिला मष्ट, रुमाल मष्ट, थार्पु मष्ट, बन्डाली मष्ट, मण्डाली मष्ट, लाटो मष्ट र बराह मष्टका शिला राखिएका हुन ।
स्थानियस्तरबाट आएको ठुलो सहयोगका कारण नै धामलाई वृहत गुरुयोजना अनुसार अघि बढाउन सकिएको अध्यक्ष साउँदको भनाई छ । ‘मष्टाधाम निर्माणका लागि स्थानियस्तरबाट ठुलो सहयोग भएको छ’ उनले भने ‘बन्दगडाका स्थानीयले त्यत्रो भुमि दान गर्नुभयो, त्यसपश्चात भौतिक संरचना निर्माणका लागि विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गनुभएको छ ।’ उनले सरकारका तीन ओटै तहबाट पनि मष्टाधाम निर्माणका लागि सहयोग पाईएको बताए ।
गुरुयोजना अनुसार मष्टाधाममा मन्दिर निर्माणको कार्य सकिएपनि अन्य कामहरु भने अझै गर्न बाँकी नै छन । गुरुयोजना अनुसार पार्क बनाउने, सेल्फी स्पोट तथा पिक्निक स्पोट बनाउने तथा ताल क्षेत्रलाई व्यवस्थीत गर्ने काम अझै गर्न बाँकी रहेको अध्यक्ष साउँदले बताए । ‘मन्दिरको काम लगभग सकिईसकेको छ, त्यहाँ शिला राख्ने र पुजा गर्ने कार्य भैसक्यो’ अध्यक्ष साउँदले भने ‘अब गुरुयोजना अनुसार यसलाई पर्यटकिय स्वरुप दिने तिर हामी लागीरहेका छौँ ।’
धाममा दुधे मष्टाको मुल मन्दिर निर्माण गरिएको छ भने १०८ फिट अग्लो त्रिशुल राखिनेछ । सो त्रिशुल विश्वमै सबै भन्दा अग्लो हुने अध्यक्ष साउँदको भनाई छ । त्यसबाहेक १ हजार १०० किलोको भानु घण्ट राखिने, बाल तथा वृद्धाश्रम बनाईने, साधु सन्त तथा धार्मिक पर्यटक आश्रम तथा ध्यान केन्द्र बनाईने, गौ ताल र मैदान निर्माण गर्न बाँकी रहेको अध्यक्ष साउँदले बताए । उनले धामलाई पुर्णतः धार्मिक र पर्यटकिय शैलिमा अघि बढाईदै छ ।
आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई ल्याउनका लागि आफूहरुले पर्यटकिय शैलीमा मष्टाधामको निर्माण गरेको अध्यक्ष साउँदको भनाई छ । उनले मष्टाधामलाई गुरुयोजना अनुसार निर्माण सम्पन्न गर्न सके सुदूरपश्चिमका कला, संस्कृतिहरु उजागर हुनुका साथै यहाँको आर्थिक र सामाजिकस्तर पनि माथी उठ्ने विश्वास व्यक्त गरे ।
उनले मष्टाधामले कैलालीक्षेत्रमा रहेका विभिन्न धार्मिक शक्तिपिठहरुलाई जोड्ने कार्य गर्ने बताए । उनका अनुसार कैलालीको धनगढीमा रहेको शिवपुरी धाम, बेहडा बाबा, गौरीगंगामा रहेको मोहन्याल धाम, चुरेमा रहेको गोलादेउ मन्दिर र गोदावरीमा रहेका गोदावरी धाम र मष्टाधामलाई जोडेर धार्मिक शक्तिपिठ बनाउने योजना समितिको छ । धार्मिक पर्यटकहरुलाई कैलाली क्षेत्रमा रोक्नका लागि यसक्षेत्रमा रहेका शक्तिपिठहरुलाई जोड्न आवश्यक रहेको उनको भनाई छ ।

















