भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको देश बनेको छ । उसले अबको तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्न सक्ने प्रक्षेपण गरिएको छ । तर अहिलेको आधिकारिक स्थिति सन् २०२६ मा वार्षिक कूल गार्हस्थ्य उत्पादन (जीडीपी) तथ्याङ्क सार्वजनिक भएपछि मात्र पक्का हुने समाचार संस्था एएफपीले जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि भारतको अर्थतन्त्रले अर्को वर्ष जापानलाई पार गर्ने अनुमान गरेको छ । आइएमएफका अनुसार सन् २०२२ मा भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको थियो । त्यस वर्ष भारतले बेलायतलाई पार गर्दै ऐतिहासिक रूपमा महत्त्वपूर्ण प्रगति हासिल गरेको थियो । अहिलेको सरकारी आर्थिक सूचकअनुसार ४१ खर्ब ८० अर्ब डलरको कूल गार्हस्थ्य उत्पादनसहित भारतले जापानलाई उछिन्दै चौथो स्थानमा प्रवेश गरेको छ ।

भारतको जीडीपी सन् २०३० सम्ममा ७३ खर्ब डलर पुग्ने अनुमान गरिएको छ । सन् २०२६ मा आइएमएफले जापानको जीडीपी ४४ खर्ब ६० अर्ब डलर र भारतको ४५ खर्ब १० अर्ब डलर हुने अनुमान गरेको छ । गएको अगस्टमा अमेरिकाले भारतको रुसी तेल खरिदमा भन्सार शुल्क लगाए पनि भारतले आफ्नो विकास गतिलाई कायम राखेको देखिन्छ ।

















