खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेश सभा मर्मतको काम सुस्त

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सभा मर्मतको काम सुस्त गतिमा भइरहेको छ । गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएको प्रदेश सभा भवन तीन महिना बितिसक्दा पनि मर्मतले गति लिएको छैन । प्रदेश सभा भवन तयार नहुँदा हिउँदे अधिवेशन कहिले सुरु हुने भन्ने टुङ्गो लागेको छैन । बैठक नबस्दा अति आवश्यक कानुन निर्माण र संशोधनको प्रक्रिया समेत ठप्प भएको छ ।

navjiwan hospital

प्रदेश सरकारले जलेको भवन मर्मतका लागि २० लाख रुपैयाँ बजेट निकासा गरेको छ । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार भवन मर्मतको काम सम्पन्न हुन अझै कम्तीमा दुई साता लाग्ने देखिन्छ । ‘अहिले मर्मतको काम भइरहेको छ, तर यतिले मात्र सभा सञ्चालन गर्न सकिने अवस्था छैन,’ जैसीले भने, ‘संरचना मर्मत सकिएपछि पनि फर्निचर व्यवस्थापन र साउन्ड सिस्टम लगायतका प्राविधिक उपकरण जडानमा थप समय लाग्नेछ ।’

attariya hospital

सांसद बस्ने कुर्सी र बोल्ने माइक किन्न बजेटको अभाव देखिएको छ । संसदको बैठक कक्षका फर्निचर र उपकरण जोड्नका लागि अहिले प्रदेश सभा सचिवालयले दातृ निकायको मुख ताक्नुपर्ने अवस्था सिर्जना भएको छ ।

जलेका फर्निचर र उपकरण पुनः जडान गर्न युएनडीपी र युएनएफपी जस्ता दातृ संस्थाहरूसँग सहयोगको याचना गरिरहेको जनाइएको छ । सचिवालयका अनुसार ती संस्थाले सहयोग गर्ने आश्वासन दिए पनि कहिले र कसरी सहयोग प्राप्त हुन्छ भन्ने यकिन नहुँदा संसद् बैठकको अनिश्चितता थप लम्बिएको छ ।